बागमती-सुमो दुर्घटनामा मृतक छ जनामध्ये पाँच जनाको सनाखत भएकाे छ । हेटौँडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका-२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सोही दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोक निवासी ४५ वर्षीय गणेश थापा, मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका-२ निवासी २१ वर्षीया रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
काठमाडौँबाट हेटाैँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार छ जनाको मृत्यु भएको थियो । उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा गएराति उपचारका क्रममा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।