शनिबार अमेरिकाले आफ्नो शक्ति लगाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बन्धक बनाएर आफ्नो देश लग्यो । विश्वलाई अमेरिकाले भन्यो- मादुरो तानाशाही हुन् । लामो समयदेखि भेनेजुएलामा शासन गरे । देशलाई भ्रष्ट बनाएको आरोप मादुरोमाथि लगायो । यतिमात्र हैन मादुरोलाई अमेरिकाले नामुद लागुऔषध कारोबार करार गर्दै आत्मसमर्पण गर्न भनिरह्यो । अमेरिकाको यो व्याख्यालाई धेरैले पत्यायो पनि । भेनेजुएलाका कतिपय जनताले अमेरिकी व्याख्यालाई साथ दिइरह्यो ।
तर जब मादुरोलाई न्युयोर्क पुर्याइयो तब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असली नियत प्रस्ट पारिहाले । अमेरिकाले भेनेजुएलाको राष्ट्रपति उठाउनुको कारण तेलको भण्डारहरुमाथि अधिपत्य जमाउनु रहेको कुरा ट्रम्पले खुलमखुला सुनाए । पछिल्लो अध्ययनहरुले भेनेजुएलामा धेरै तेल खानीहरु छन् । पहिले अमेरिकी व्यापारीले कब्जा जमाएको तेलखानी अहिले विस्तारै चीनको नियन्त्रणमा जान थालेका थिए । जसकारण पनि अमेरिकाले आफ्नो ठूलै शक्ति खर्चेर यहाँ यस्तो उद्दण्डता मच्चाएको भनिएको छ ।
यो झण्डै लुटेराहरुले गुण्डागर्दी गरेको शैलीमा भएको थियो । अमेरिकाले यो आक्रमणको योजना महिनौंअघि बनाएको खुलाएको छ । शनिबार गरिएको आक्रमणमा १५० भन्दा बढी सैन्य जहाज प्रयोग गरिएको थियो भने जमिन र समुद्रबाटसमेत आक्रमण गरिएको थियो । अत्यधिक सुरक्षासहित बसेका मादुरोलाई अमेरिकी सेनाले ३० मिनेटमा नियन्त्रणमा लिएको बताइएको छ । यो कदममा मादुरोकै नजिकका पात्रहरुबाट सहयोग लिइएको अमेरिकी गुप्तचरहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय कानुन हेर्ने हो भने भेनेजुएला एक स्वतन्त्र देश हो भने मादुरो त्यहाँका एक स्वतन्त्र शासक । अमेरिकाले एक स्वतन्त्र देशको राष्ट्रपतिमाथि यसरी आक्रमण गर्नु खेदजनक कदम हो । यो कदममा विश्वका शक्तिशाली देशहरुले खासै प्रतिक्रिया दिएका छैनन् । यो त शक्तिशाली राष्ट्र अमेरिकाको कदमप्रति एकप्रकारले मौन समर्थन जनाउनु पनि हो । आफ्नो स्वार्थसिद्ध गर्न अमेरिका जे पनि गर्न तयार हुन्छ भन्ने कुरा यो घटनाबाट पुष्टि हुन्छ ।
शान्तिप्रेमीलाई गुमराहमा पारेर मादुरोजस्तो शासकलाई जुनसुकै बेला तह लगाउन अमेरिका सक्षम छ र विश्वकै शक्तिशाली हामी हौं भनेर देखाएको यो दादागिरी कदापि स्वीकार्य छैन । ट्रम्प प्रशासनले थालेको यस्तो दादागिरी धेरै दिन टिक्दैन पनि । मादुरोलाई तुरुन्तै भेनेजुएला पुर्याएर त्यहाँको जनतालाई जिम्मा लगाउनु वा अन्तर्राष्ट्रिय अदालतमा पुर्याउनु सबैभन्दा न्यायोचित हुने छ । आफ्नै अदालतमा लगेर एक स्वतन्त्र शासकलाई बयान लिने र बन्धक बनाउने काम निन्दनीय छ । तत्काल यस्तो कदमलाई अमेरिकाले सच्याउँदै मादुरोलाई रिहा गरियोस् । भेनेजुएलाको स्रोतमाथि आँखा लगाउने काम बन्द गर ।
a