- ट्रम्पले भने-निकोलस मादुरोलाई श्रीमतीसहित पक्राउ गरेर देशबाहिर निकालियो
- भेनेजुएलाले माग्यो राष्ट्रपति निकोलस र प्रथम महिला जीवित रहेको प्रमाण
- भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको, ‘नार्को-आतंकवादी’ सरकारको अध्यक्षता गरेको, अमेरिका विरोधी काम गरेको आरोप
- अमेरिकाले भेनेजुएलाको स्रोतसाधन कब्जा गर्न आक्रमण गरेको भन्दै आपत्ति
- अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पु¥याएको भेनेजुएलाको आरोप
- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक तत्काल बोलाउन भेनेजुएलाको माग
काठमाडौं- संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कुराको पुष्टि गरेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देशबाहिर निकालिएको बताएका हुन् । ‘मदुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको छ र देशबाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानुन प्रवर्तनसँग मिलेर गरिएको थियो । थप विवरणहरू पछि प्राप्त हुने छन्,’ ट्रम्पले लेखेका छन् । यद्यपि, उनीहरुलाई कहाँ लगिएको हो भन्ने खुलाइएको छैन ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिला फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेकोे तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाको राजधानी काराकासमा शनिबार बिहान २ बजे ठूला-ठूला विष्फोट भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, सहरमा मुख्य भागमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन् । दुवै ठाउँमा भएका विष्फोटको भिडियो पनि सार्वजनिक भएको छ ।
भेनेजुएलाका राष्ट्रपति मदुरोलाई ट्रम्प प्रशासनले हप्तौंदेखि दबाब दिएपछि यो आक्रमण भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार ‘नार्को-आतंकवादी’ सरकारको अध्यक्षता गरेको आरोप लगाएका थिए ।
यसैगरी, अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुंगाहरूविरुद्ध कारबाही बढाएको छ । भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेका थिए ।
यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पु¥याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ । आधिकारिक विज्ञप्तिमा अमेरिकाले काराकास र मिराण्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उल्लेख गरिएको छ ।
नेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेषगरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ । विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ ।
बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेण्टी गर्न राष्ट्रव्यापीरूपमा तैनाथ गरिएको छ । राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुनअनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा संकटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ ।
हाल राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमाण्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ । संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ । भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विष्फोट भएको रिपोर्टको बीचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ ।
घटनाक्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन् ।
आवासीय क्षेत्रमा बम आक्रमण
भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भनेका छन्, ‘आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा ‘अपवित्र हस्तक्षेप’ गरेको छ । उनीहरूले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुएलामाथि प्रहार गरेका छन् । भेनेजुएलाले राष्ट्रको सार्वभौम रक्षाका लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरूको ठूलो प्रयोग गर्ने छ ।’
राष्ट्रपति मादुरो पछिल्लोपटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरूले वासिङ्टनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्यांक संकलन भइरहेको जनाएका छन् । लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिराण्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।
एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विष्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतंक मच्चिएको’ बताएका छन् । देशका अन्य सहरहरूमा पनि थप विष्फोटहरू भएका बताइएको छ । राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला-ठूला विष्फोटका आवाज सुनिएको थियो ।
सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ । भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् ।
भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए । यद्यपि, न्युयोर्क टाइम्ससँगको संक्षिप्त फोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा ‘नार्को-आतंकवाद षड्यन्त्र’ विरूद्धको आक्रमण सफल भएको बताएका छन् । उनले भने, ‘वास्तवमा यो एक शानदार कारबाही थियो । भेनेजुएलामा धेरै राम्रो योजना र धेरै महान् काम भएको छ । सेनाले महान् काम गरेको छ ।’