देशभर चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित हुन थालेका छन् । तराई मधेस क्षेत्रमा चिसोसँगै बढेको शीतलहरले दैनिकी कष्टकर बनाएको छ । चिसोबाट बच्न तराईका विभिन्न जिल्लामा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरिएको भए पनि त्यो पर्याप्त देखिँदैन । प्रायः विद्यालयहरु बन्द गरिएका छन् । तराईमा बर्सेनि शीतलहरका कारण धेरैको ज्यान जाने गरेकाले सतर्कता अपनाउन जरुरी छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामी व्यक्तिहरुलाई शीतलहरको प्रभावबाट जोगाउनुपर्छ । तराईमात्रै नभएर पहाड र हिमाली क्षेत्रका जनजीवन पनि चिसोले प्रभावित तुल्याएको छ । अहिलेसम्म हिउँ र पानी भने परेको छैन । हिउँ परेको खण्डमा चिसो थप बढ्ने हुन्छ ।
यहीबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको संख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन् । जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरु बढ्ने गरेका उनको भनाइ छ ।
चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गरिएको छ । जाडोयाममा बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगी बढी जोखिम हुने गरेको डा. बुढाथोकी बताउँछन् । पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने गरेको बताइन्छ ।
चिसोका कारण उत्पन्न हुने सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने गर्न मन्त्रालयले सुझाएको छ । यसैगरी भिटामिन सी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसमअनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने डा. बुढाथोकीले बताएका छन् । यी सुझावलाई सबैले पालना गर्नु नै बुद्धिमानी हुन्छ । होइन भने चिसोको सिकार बन्नुपर्ला । चिसोबाट आफू जोगिउँ र अरुलाई पनि जोगाऔं ।