पाँचथर - क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ ।साइकल यात्राद्वारा पुष्पलाल (मध्यपहाडी) राजमार्ग पार गर्ने लक्ष्यसहित बिहिबारदेखि राजमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङबाट उक्त यात्रा सुरुआत भएको हो ।
एक हजार ८०० किलोमिटर दूरी पार गर्ने उद्देश्यले थालिएको साइकल यात्रामा आठ साइकल यात्री तथा चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने अन्य आठ सदस्य रहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा तारालाल श्रेष्ठका अनुसार उक्त संस्था र धुलिखेल अस्पतालको समन्वयमा साइकल यात्रा सुरुवात भएको हो ।
क्यान्सरलाई जितेका साइकल यात्री लामा र चित्रकारको अगुवाइमासञ्चालित यात्राले क्यान्सरका बिरामीलाई आत्मबल प्रदान गर्ने, क्यान्सर लाग्दैमा जीवन सकिन्छ भन्ने भ्रम चिर्ने तथा क्यान्सरका बिरामीको उपचार सहयोगार्थ अक्षयकोषमा रकम सङ्कलन गर्ने उद्देश्य रहेको डा श्रेष्ठको भनाइ छ ।
“क्यान्सरका बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको अवस्था छ । यसले महामारीको रुप लिएको अवस्थामा क्यान्सरपछि जीवन छ भनेर देखाउनु जरुरी छ”, डा श्रेष्ठले भने, “यस अभियानको अगुवाइ गर्ने लामा र चित्रकारले क्यान्सरलाई जितेपछि अन्नपूर्ण सर्किट, मनाङ, उपल्लो मुस्ताङलगायत क्षेत्रमा साहसिक साइकल यात्रा गरिसक्नुभएको छ ।”
जेनजी आन्दोलनपछि देखिएको निराशा चिर्ने, मनोवैज्ञानिक बिरामीलाई हौसला दिने, आशा त्यागेकालाई आशा दिने, विश्वभरिका सहयोग गर्न चाहने, मानवियता देखाउनेलाई जोड्न साइकल यात्रा सार्थक हुने अपेक्षा गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा डा सुमनराज ताम्राकारले बताए । “मध्यपहाडमा भेटिने सबैसँग अन्तरक्रिया गरेर नयाँ सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विश्वास लिएका छौँ”, प्रा डा ताम्राकारले भने।
क्यान्सर बिरामीको उपचार कोष स्थापना गर्ने उद्देश्यसहित यसअघिबाटै काम भइरहेको र हालसम्म रु ४४ लाख रकम जम्मा भइसकेको उनले जानकारी दिए । इश्वी संवतको पहिलो दिन जनवरी १ देखि सुरु भएको साइकल यात्रा बैतडीको झुलाघाटमा २९ दिनपछि सम्पन्न गर्ने आयोजकको योजना रहेको छ । नेपाल–भारत सीमावर्ती ३१०० मिटर उचाइमा रहेको चिवाभञ्ज्याङबाट आज दिउँसोदेखि सुरु भएको यात्राका यात्रीहरु साँझ याङवरक गाउँपालिका–६ गणेशचोक आइपुगेका छन् ।