हरेक परिवर्तनहरुलाई नेतृत्व प्रदान गर्दै अघि बढेको नेपाली कांग्रेस यसपटक कुहिरोभित्रको काग बनेको छ । यो दलले न त समयमा महाधिवेशन गर्न सकेको छ न त असन्तुष्टहरुलाई बुझाउन सकेको नै छ । पुस १६ बाट वडा अधिवेशन थाल्नुपर्ने कांग्रेसले न त अधिवेशन नै थाल्यो न त स्थगित भएको सूचना नै दियो ।
जसकारण अहिले महामन्त्रीहरुले यो अधिवेशन स्थगितको वक्तव्य निकालेका छन् । विधानतः महामन्त्रीहरुले अघि बढाएको यो कदम विद्रोह हो । यसले देशकै सबैभन्दा पुरानो र इतिहास बोकेको दलमा कचिङ्गल छाएको छ । यो कचिङ्गलले चुनावसमेत प्रभावित हुने देखिएका छ । हुन त कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाइसकेको छ ।
अहिले महाधिवेशन नगरी निर्वाचनमा जाने सभापति शेरबहादुर देउवाले बताउँदै आएका छन् । योसँगै चुनावी वातावरण बनेपनि दुई महामन्त्रीले नियमित महाधिवेशन रद्द गर्दै विशेष महाधिवेशनका लागि गरेको तयारीले आशंका उब्जेको छ । कतै कांग्रेस चुनाव बिथोल्ने गरी प्रस्तुत भएको त हैन ? फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस सहभागी भए अरु दल स्वत पछिपछि लाग्ने अवस्था बन्दै आएको विगतको पाठ छ ।
यसपटक कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुसको अन्तिममा महाधिवेशन गरे यो कचिङ्गल गाउँसम्म पुग्न सक्छ । जसकारण देखाउँदै कांग्रेसले निर्वाचनमा भाग नलिने निर्णय गर्न सक्छ । कारण चुनावअघि महाधिवेशन हुँदा नेताहरुबीच तिक्तता हुने र चुनाव हारिने सम्भावना रहने नेताहरु बताउँछन् । कांग्रेसले चुनाव छल्ने देखिए अरु दल झनै यसमा सहभागी बन्दैनन् ।
विशेषगरी अर्को ठुलो दल नेकपा एमाले पनि चुनावमा जान आनाकानी गरिरहेको छ । कांग्रेससँग मिलेरमात्र चुनावमा जाने एमालेको तयारी छ । यदि कांग्रेस चुनावमा नगए एमाले पनि नजाने निश्चित छ । यसले नेपाली कम्युनिस्ट पार्टी पनि चुनावमा नजाने वातावरण बन्ने कतिपय बताउँछन् । यसले गर्दा बनिसकेको चुनावी वातावरण फेरि बिग्रनेछ । जसले गर्दा संविधानलाई सही ट्र्याकमा ल्याउन मुश्किल हुने देखिन्छ ।
त्यसैले अहिले कांग्रेसले आफ्नो घरायसी विवादलाई थाँती राखेर चुनावलाई मुल विषय बनाउँदा देशलाई हुने देखिन्छ । यसका लागि कांग्रेसले कि त माघभित्रै महाधिवेशन गरेर अघि बढेको राम्रो । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मनाएर चाँडै नयाँ कार्यतालिका ल्याउनुपर्छ । नभए अहिले घरायसी विवाद थाँती राखेर चुनावमा होमिनुको विकल्प छैन । चुनावी वातावरण बिथोलेर मुलुकलाई अनिर्णयको बन्दी बनाउने नीति कांग्रेसले लिएको सुहाउँदैन ।