काठमााडाैं- साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा ओर्लिएको हो ।
आज बजारमा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको छ । आज कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बजारका १३ समूहका सूचकमध्ये आज अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम रहेको छ ।