विराटनगर- कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३.९ प्रतिशत पुगेको हाे ।
कोशी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्यांकअनुसार कुल ४७ हजार ९५८ सहभागीमध्ये २५ हजार ८३३ महिला छन् भने पुरुषको सङ्ख्या २२ हजार १२० अर्थात् ४६.१ प्रतिशत मात्र सीमित छ । यसले परम्परागत रूपमा पुरुषको क्षेत्र मानिने प्राविधिक विधामा महिलाको बढ्दो आकर्षण र सक्रियतालाई स्पष्ट पारेको छ ।
कोशी प्रदेशका युवाले सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा १८.१ प्रतिशत सहभागिता जनाएका छन् । यसैगरी फोटोग्राफीमा १६.४ प्रतिशत, व्यापार व्यवसायमा १२.४ प्रतिशत र आतिथ्य उद्योग (हस्पिटालिटी)मा ११.८ प्रतिशतको संलग्नता देखिएको छ । टेक्सटाइल र सिलाइ बुनाइजस्ता क्षेत्रमा पनि सहभागिता उत्साहजनक देखिए तापनि पुस्तकालय र सूचनन् विज्ञान, हस्तकला र निर्माणजस्ता क्षेत्रमा भने युवाको रुचि निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
तथ्यांकले देखाएअनुसार ९० प्रतिशतभन्दा बढी सहभागीले तह एकको मात्र सीप परीक्षण गराएका छन् । विशेषगरी स्वदेश तथा विदेशमा रोजगारीका लागि न्यूनतम प्रमाणपत्र अनिवार्य हुने भएपछि युवा प्रारम्भिक तहको परीक्षणमा बढी केन्द्रित भएका हुन् । उत्तीर्ण प्रतिशतको अवस्थालाई हेर्दा समग्रमा ६१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । यद्यपि तह एकमा ६३ प्रतिशत उत्तीर्ण हुँदा माथिल्लो तहमा भने यो दर क्रमशःघट्दै गएको देखिन्छ । तह दुईमा ४० प्रतिशत र तह तीनमा पुग्दा उत्तीर्ण दर १७ प्रतिशतमा खुम्चिनुले उच्च तहको सीप र क्षमता विकासमा अझैँ मेहनत गर्नुपर्ने चुनौतीलाई उजागर गरेको छ ।
मन्त्रालय र स्वीस कन्ट्याक्टको यो सहकार्यले कोशी प्रदेशमा दक्ष जनशक्तिको वास्तविक अवस्थालाई बाहिर ल्याएको पहिलो दस्तावेज भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले जानकारी दिए । सीप परीक्षणमा महिलाको यो उत्साहजनक सहभागिताले आगामी दिनमा प्रदेशको श्रम बजारमा दक्ष महिला जनशक्तिको उपस्थिति बलियो हुने र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।
छोटो अवधिको व्यावसायिक तालिम प्रदायक संस्थाको विस्तार भने कोशी प्रदेशमा उत्साहजनक छ । हाल प्रदेशभर २१५ वटा संस्थाले छोटो अवधिको तालिम प्रदान गर्न सम्बन्धन प्राप्त गरेका छन्। जिल्लागत रूपमा हेर्दा मोरङमा सबैभन्दा बढी ६४ वटा र झापामा ४४ संस्था रहेका छन् भने सुनसरीमा ७२ वटासम्म संस्थाले स्वीकृति पाएका छन् । यी संस्थाले प्रति संस्था औसत ६.३० का दरले विभिन्न १३५४ वटा स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले बजारको मागअनुसार १८० घण्टादेखि १६९६ घण्टासम्मका कुल २७४ वटा व्यावसायिक तालिमका पाठ्यक्रम निर्माण गरेको छ । यस्तै, राष्ट्रिय सीप परीक्षण समितिले ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणिकरणको मापदण्ड तयार गरी सीप परीक्षणकाकार्य अघि बढाएको छ । समग्रमा, सीप परीक्षणमा महिलाको बढ्दो सहभागिता र तालिम केन्द्रको बढ्दो सङ्ख्या सकारात्मक पक्ष हुन् ।
प्राविधिक धारमा घट्दो सङ्ख्या
कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्र विस्तार देखिए पनि अर्कोतर्फ शैक्षिक निरन्तरतामा भने गम्भीर चुनौती देखिएको छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार प्राविधिक धारतर्फ विद्यार्थीको भर्ना दर कक्षा बढ्दै जाँदा कमजोर हुँदै गएको पाइएको हो ।
प्राविधिक धार अन्तर्गत कक्षा ९ मा विद्यार्थीको भर्ना दर ५९ प्रतिशत रहेको पाइएको छ । तर, यो उत्साह माथिल्लो कक्षामा पुग्दा टिकिरहन सकेको छैन । तथ्यांकअनुसार कक्षा १० मा ५४ प्रतिशत, कक्षा ११ मा ३५ प्रतिशत हुँदै कक्षा १२ मा पुग्दा यो दर घटेर मात्र ३४ प्रतिशतमा सीमित भएको छ । यसले प्राविधिक शिक्षा सुरु गरेका उल्लेख्य सङ्ख्याका विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको तथ्यांकमा देखिन्छ । यसले प्राविधिक धारका शैक्षिक संस्था मर्ज गर्नु पर्नु अवस्थामा पुगेको प्रतिवेदनले स्पष्ट पारेको छ ।
माथिल्लो शैक्षिक तहमा विद्यार्थीको घट्दो उपस्थिति र सीप परीक्षणमा तह एकभन्दा माथिल्लो तहमा देखिएको न्यून उत्तीर्ण दरले प्राविधिक शिक्षाको गुणस्तर र स्थायित्वमा अझैँ धेरै काम गर्न बाँकी रहेको देखाएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयालले बताए । दक्ष जनशक्ति उत्पादनका लागि केवल सङ्ख्यात्मक विस्तारमा मात्र नभई विद्यार्थीलाई माथिल्लो तहमा समयोजनका कार्यक्रम अघि सार्नु पर्ने देखिएको बताए।
आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले सिटिइभिटीद्वारा सञ्चालित प्राविधिक धार सञ्चालनमा चुनौति रहेको बताए। सिटिइभिटीले २४ विद्यार्थी पुगेपछि मात्रै कोर्स सकाउन सात लाख दिने गरेको छ, यो असाध्यै कम हुने बताए । उनले अहिलेको प्राविधिक धारको पाठ्यक्रम पनि ठिक नभएको गुनासो गरे ।
साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले प्राविधिक धार लामो भएको बताए । पाठ्यक्रममा नै समस्या भएको कारण सुरु सुरुमा सिभिलमा १२० आउनेमा अहिले घटेर ४८ जनाको कोटा रहेकामा अहिले आधा विद्यार्थी पनि भर्नाको लागि नआएको बताए।