अंग्रेजी वर्ष सन् २०२५ नेपालका लागि सकसपूर्ण रह्यो । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको मनपरी चल्दा देश समस्याग्रस्त बन्यो । भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका अधिकारी मुछिँदा पनि सरकारले जोगायो । गभर्नर विश्वनाथ पौडेल नियुक्तिदेखि बिमा प्राधिकरणका अध्यक्षमा शरद ओझा नियुक्तिसम्म एमाले-कांग्रेस नेतृत्वको सरकारले मनपरी गर्यो । गठबन्धन सरकार यति मैमत्ता बन्यो कि जसका कारण विपक्षी दलहरुसमेत सदनमा बोल्न डराए । यसरी नै देशको आर्थिक अवस्था डामाडोल बन्यो । नागरिक असन्तुष्ट बने । सदनमा दबिएको स्वर जनताले सामाजिक सञ्जालमार्फत पोख्न थाले । सरकारले भने नियमनको नाममा सामाजिक सञ्जाल नै बन्द गरे ।
यसैको ‘बाइप्रडक्ट’का रुपमा भदौ २३ र २४ गते जेन-जी विद्रोह भयो । सो विद्रोहमा ७६ जनाले ज्यान गुमाए भने त्यसैको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । अहिले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले कार्यभार सम्हालिरहेको छ । अब दुई महिनामै प्रतिनिधिसभाको निर्वाचन हुने कार्यतालिका छ । यो बीचमा देशको आर्थिक अवस्था सुधर्ने प्रयास भए पनि सफल भने भएको छैन । घरजग्गा व्यवसाय ओरालो नै रह्यो । सरकारले कित्ताकाट खोल्न ढिला गरेका कारण यो क्षेत्र सुस्त नै छ । ब्याज सस्तिएसँगै बैंकहरुमा पैसा थुप्रिन थालेको छ । लगानी गर्ने वातावरण बनेको छैन । जेन-जी विद्रोहको समयमा निजी क्षेत्रमाथि व्यापाक आक्रमण भएको कारण लगानीको वातावरण अझै बनेको छैन ।
यद्यपि, अन्तरिम सरकारले वातावरण बनाउने प्रयास भने जारी राखेको छ । विद्रोहले कर्मचारीदेखि सुरक्षाकर्मीको मनोबल गिराएको छ । यो त्रासमा पनि आश देखिने धेरै विषय भने देखिन थालेका छन् । राजीनीतिमा नेताहरुले भूलसुधारको प्रयास गरेका छन् । नेकपा एमालेले महाधिवेशन सकाएको छ । दलहरुले सकेसम्म विवादरहित नेतृत्व खोज्न थालिएको छ ।

नागरिक सरकारले ‘एक्सन’मार्फत ‘करेक्सन’को सन्देश दिन खोजिरहेको छ । यो बीचमा सुनचाँदीको भाउ अचाक्ली बढ्न थालेको छ । भुक्तानी सेवाहरु यो वर्षबाट डिजिटल बन्दै गएका छन् । वैदेशिक रोजगारमा नयाँ गन्तव्यको खोजी सुरु भएको छ । रेमिट्यान्स प्रवाह राम्रो हुँदै आएको छ । यसरी विभिन्न आरोह र अवरोहकाबीच वर्ष २०२५ नेपालीका लागि त्रासमा रहे पनि अब ठूलो संख्यामा युवाहरुको बलिदानीले एउटा आशाको किरण देखाएको छ । कामना गरौं, आजबाट सुरु भएको वर्ष २०२६ नेपाल र नेपालीका लागि सुखद् बनेर आओस् । आशा गरौं, तोकिएकै समयमा निर्वाचन हुने छ र देश संवैधानिक ट्र्याकमा फेरि फर्कने छ । देश राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्ने छ । सुशासन र समृद्धितर्फ मुलुक बढ्ने छ । नयाँ वर्ष २०२६ सबैका लागि सुखद् बनोस्, हार्दिक शुभकामना !