अधिवेशन सुरु भइसक्नुपर्ने हो । तर न त रद्द भएको विज्ञप्ति नै आयो, न त नयाँ कार्यतालिका नै आयो ।
गुरुराज घिमिरे
नेता, नेपाली कांग्रेस
काठमाडौं- मंसिर १५ गते जारी गरेको कार्यतालिका हेर्ने हो भने बुधबार देशभरका वडामा नेपाली कांग्रेसको अधिवेशन सुरु हुने थियो । तर राष्ट्रिय मेलमिलाप र एकता दिवसको अवसर पारी गर्ने भनिएको वडा अधिवेशन देशभर कतै पनि भएन ।
यसबारे केन्द्रले कुनै जानकारी नदिएको बताउँछन् नेता गुरुराज घिमिरे । कांग्रेसले न त अधिवेशनको कार्यक्रम रद्द गर्यो न त नयाँ कार्यतालिका । यसले आफूहरु अन्योलमा परेको घिमिरे बताउँछन् । ‘अधिवेशन सुरु भइसक्नुपर्ने हो । तर न त रद्द भएको विज्ञप्ति नै आयो, न त नयाँ कार्यतालिका नै आयो,’ घिमिरेले भने ।
पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस
असोज २८ गतेदेखि मंसिर १५ सम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले पुसको २६ देखि २८ मा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । संस्थापनपक्षले वैशाख २७ बाट सुरु गर्नेगरी कार्यतालिका ल्याएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतरपक्षको मन बुझाउनेगरी पुस १६ बाट गर्ने गरी कार्यतालिका ल्याएको थियो ।
तर यो कार्यतालिका अब पूर्णरुपमा प्रभावित बनिसकेको छ । बुधबारबाट अधिवेशनको कार्यक्रम नथालिएपछि विधानतः पुसको मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता अब कांग्रेसको भएको घिमिरे बताउँछन् । यसका लागि आफूहरुले विशेष महाधिवेशन बोलाउन कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकश शर्मालाई आग्रह गरिसकेको उनले बताए ।
घिमिरे विशेष महाधिवेशन पक्षधर हुन् । उनकै अगुवाइमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग यसअघि नै गरेका छन् । नियमित महाधिवेशन नै गर्ने भएपछि आफूहरु मागबाट पछि हटेको तर अहिले केन्द्रीय समितिले आफूहरुलाई झुक्याएको घिमिरेको आरोप छ ।
विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नु ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
कांग्रेस महामन्त्री थापाले भने अब विशेष महाधिवेशन बाध्यकारी भइसकेको तर्क गरेका छन् । कांग्रेसमा निषेधको राजनीति बन्द गरेर आत्मविश्वासको राजनीति गर्नुपर्ने र यो विशेष महाधिवेशनबाट मात्र सम्भव हुने थापाको भनाइ छ । ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ,’ महामन्त्री थापाले भनेका छन्, ‘त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।’
पार्टीले महाधिवेशन तोकिएको मितिमा नगर्ने छनक देखाएपछि बुधबार विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुको भेला बसेको थियो । उक्त भेलाले पुस २७ भित्र जसरी पनि विशेष महाधिवेशन आयोजना गर्न माग गर्ने निर्णय गरेको यस पक्षका नेता बलदेव तिमल्सिनाले बताए । ‘पुस २७ गतेसम्म विशेष महाधिवेशन जसरी पनि सम्पन्न गर्नका लागि आवश्यक कार्ययोजना, एजेण्डा र चरणबद्व कार्यक्रम गर्ने निर्णय भएको छ,’ तिमल्सिनाले भने । यसका लागि अकुपाइ सानेपा कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको उनले बताए ।
कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भन्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक थालेको छ । यही बैठकस्थलमा पुगेर विशेष महाधिवेशन माग्दै नेताहरुले धर्ना सुरु गर्न थालेका हुन् । सभापति शेरबहादुर देउवाले फागुन २१ गतेको निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन नहुने बताएका छन् । ‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक दिएकै छु । जे–जे गरे पनि केही भएन,’ देउवाले केही सञ्चारकर्मीसँगको भेटमा मंगलबार भने ।
स्वास्थ्यको कारण देखाउँदै देउवाले असोज २८ गते खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए । निर्णायक विषयहरुमा देउवाले आफैं हस्तक्षेप गर्दै आए पनि महाधिवेशनबारे भने उनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएका देखिन्छन् । विधानत देउवाको कार्यकाल मंसिर मसान्तसम्म मात्र हो । २०७८ मा देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।
देउवानिकट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत विशेष महाधिवेशनको कुनै तुक नभएको बताउँछन् । प्रतिनिधिसभा निर्वाचनलगत्तै महाधिवेशन गरेर अघि बढ्न सकिने प्रवक्ता महतको तर्क छ । ‘आमनिर्वाचनको लगत्तै प्रक्रिया सुरु गरेर नयाँ नेतृत्व चुन्नु नै पार्टीको हितमा हुन्छ । अहिले विशेष महाधिवेशन भनेर हल्ला गर्नुको तुक छैन,’ महतले भने ।