अत्तरिया- आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको निर्वाचन अधिकृत एवं कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्तरुपमा उद्घाटन गरेका छन् । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस प्रदेशमा राष्ट्रियसभाका लागि दुई जनाको निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार एक महिला र एक जना अन्यका लागि निर्वाचन हुनेछ । उहाँले यस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २२७ मतदाता रहेका जानकारी दिए ।
त्यसमध्ये, १७५ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र ५२ प्रदेशसभा सदस्य रहेका उनले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल प्रदेश निर्वाचन कार्यालय धनगढीको परिसर कायम गरिएको र दुई मतदान केन्द्र रहने उहाँले जानकारी दिए ।