समानुपातिक सूचीमा यसपटक कांग्रेसले पहिले अवसर पाएकालाई नराख्ने भनेको थियो । यहीअनुसार कांग्रेसले जिल्ला-जिल्लामा परिपत्र गरेको थियो । तर, निर्वाचन आयोगमा बुझाएको कांग्रेसको समानुपातिक सूची पल्टाउँदा त्यो देखिएन । संस्थापन गुट र इतर गुट मिलाउने नाममा पटक-पटक अवसर पाइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई कांग्रेसले समानुपातिक सूचीमा प्राथमिकतासाथ राखेको छ ।
अरु दल हेरी कांग्रेस निकै पुरानो पार्टी हो । यो दल सुध्रन भन्दै बेलाबेला जनताले विद्रोह गर्दै आएको छ । बेलाबेला कांग्रेस होसमा आएझैं सुध्रन्छ र जनताले यस्तो बेला कांग्रेसलाई साथ दिँदै पनि आएको छ । यसपटक कांग्रेसका लाचरीपनका कारण जेन-जी विद्रोह भयो । यो विद्रोहको स्पष्ट सन्देश थियो, दलहरु सुध्रिनुपर्छ । तर कांग्रेसको उम्मेदवार सूचीले यस्तो देखाएन । कांग्रेस त सुध्रिएन नै वैकल्पिक शक्ति निर्माणमा एकाकार भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत यो विषयमा चुकेको देखिन्छ । रास्वपाले समानुपातिक सूचीमा नातेदार, तारमारा वर्ग, सेलिब्रेटीलगायत राख्न सफल भएको देखिन्छ ।
खासमा प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने तर कानुन निर्माण गर्ने थलो संसद्मा प्रतिनिधित्व हुनुपर्ने सीमान्तकृत समुदायको प्रतिनिधित्वको सुनिश्चितताका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको हो । उम्मेदवार बन्नका लागि प्रतिस्पर्धा गर्न नसक्ने तर विशेषज्ञता हासिल गरेकाहरुलाई सहभागी बनाउने बाटो पनि हो । तर रास्वपाको समानुपातिक सूचीमा व्यापारी चन्द्र ढकालका छोरा सचिन ढकाल छन् । ढकाल उनै व्यापारी हुन् जसले मुक्कुमलुङमा केबलकार बनाउने नाममा स्थानीयको आवाज दबाउन एमाले-कांग्रेसजस्ता दलका नेतादेखि सत्ताको शक्ति प्रयोग गरेका थिए । रास्वपाले पार्टीभित्रै आन्तरिक निर्वाचन गरी समानुपातिक उम्मेदवारहरु छानेका थिए । यद्यपि यही क्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग सम्झौता गर्दा धेरै उम्मेदवार छुटाए ।

रास्वपाले आफ्ना सभापति रवि लामिछानेले कैद जीवन बिताउन सघाएकाहरुलाई पनि समानुपातिक सूचीमा राखेको छ । यही क्रममा कुलमानलेसमेत आफ्नो नातेदारलाई प्राथमिकतामा पारेको आरोप लागेको छ । खासमा पुराना दलबाट भए गरेका गल्तीमाथि उठेका प्रश्नहरुको सम्बोधन नयाँ शक्तिले गर्नुपर्ने हो । प्रश्न उठाउने मौका नै दिन नहुने हो । तर, ‘जुन जोगी आए नि कानै चिरेका’ भन्ने नेपाली उखानलाई चरितार्थ पार्ने गरी नयाँ दलले पनि उस्तै पारा देखाएको छ । नातावाद, कृपावादलाई निरन्तरता दिने भए, एक्स्पोज नेपोबेबी, नो नट अगेन जस्ता अभियान किन चलाउनु ?