वीरगञ्ज - शीतलहरले वीरगन्ज तीन दिन सार्वजनिक बिदा निर्णय गरेको छ । वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।
वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खेे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।
सुनसरीमा पठनपाठन प्रभावित
सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।
इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यहाँका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय दिइएको जनाइएका छन् । स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।