काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छिन् । बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले बताएकी हुन् ।
उनले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिइन् । उनले अभियन्ता प्रसाईंका कैयौँ माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न अनुरोध गरिन् ।
राजनीतिक अस्थिरतासहित अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन हुन आवश्यक रहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गरिन् । मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् ।
“धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौँ,” उनले भनिन् , “सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रुपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔँ ।”
“हामी पनि न्यायका पक्षधर हौँ, सत्ताभोग र सुखसयल गर्न सरकारमा आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ । सबै कामको नतिजा रातारात नदेखिए पनि आधारशिला तयार गरेका छौँ । तपाईंले उठाउनुभएका कतिपय माग, मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला, सरकार सदैव यहाँहरूकै साथमा छ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।