फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन थियो । यसअघि धेरैले यो मितिमा खासगरी शीर्ष दल यो प्रक्रियामा सहभागी नहुने आशंका गरिएको थियो । यही बीचमा नेपाली कांग्रेसले कार्यतालिकामा थोरै फेरबदल गर्न आग्रह गरेको थियो । अर्को ठूलो दल एमालेले निर्वाचनको वातावरण नै नबनेको तर्क गर्दै आएको थियो ।
यही कुहिरोबीच धेरैको आशंका थियो समानुपातिकमा शीर्ष दलले सूची बुझाउने छैनन् र यो निर्वाचन प्रभावित हुने छ । तर आशंका हटाउँदै सबै, विशेषगरी शीर्ष मानिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ दलहरुले निर्वाचन आयोगमा बन्द सूची बुझाएका छन् ।
निर्वाचनको अभिभारा पाएको सरकारले यो बीचमा दलसँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन गर्नेदेखि शीर्ष नेताहरुसँग छलफलसमेत गरेको थियो । सरकार निर्वाचनको वातावरण बनाउन शीर्ष नेताको घरमा पुग्नेदेखि जेन-जी विद्रोहको क्रममा जलेको दलको कार्यालयसमेत पुगेको थियो । सरकारको यो प्रयासले एकाएक दलसँग सम्बन्ध सुध्रिएको छ । योसँगै समानुपातिक सूची बुझाउने वातावरण पनि बनेको थियो ।
निर्वाचनको वातावरण मात्र बनेन यो बीचमा राजनीतिक ध्रुवीकरणसमेत भएको छ । पुराना शक्तिविरुद्ध लड्न वैकल्पिक शक्तिबीच एकीकरणसमेत भएको छ । यसअघि जेन-जी विद्रोहमा सहभागीहरु नै निर्वाचन हुन नदिने घोषणा गर्दै हिँडेका थिए । तीमध्ये एक हुन्- हामी नेपाल अभियानका संयोजक सुधन गुरुङ । उनै गुरुङ पछिल्लो दिन नयाँ शक्तिहरु एक बनाउन तल्लीन भएर लागे । यसकारण पनि एकाएक निर्वाचनको माहोल बनेको छ । यसले अब फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन्न भन्ने कुनै छनक बाँकी बसेको छैन ।
जनचाहनाअनुसार नै नयाँ शक्तिका रुपमा उदाएका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनबीच एकता भएको छ । यसले राजनीतिक वृत्तमा तरंग छाउनुका साथै पुराना र शक्तिशाली मानिने दलले बलियो प्रतिस्पर्धी पाउने भएको छ भने आगामी निर्वाचन पनि रोचक हुने देखिएको छ । यो माहोल संविधानलाई ट्र्याकमा ल्याउने वातावरण बन्नु हो । यसलाई सबैले स्वागत गरौं ।