काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् । नयाँ वर्ष शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारका अवसरमा उनले बताएका हुन् ।
उनले आज देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । सोही सन्दर्भमा उनले भने, “हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकास गर्न विशिष्ट भूमिका खेलेको छ ।”
तमु लोसारजस्ता मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।