- प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नाम बुझाउने अन्तिम समयमा सोमबार तीन फरक–फरक दलबीच एकता
- कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा विलय, घिसिङ पहिलो वरीयताको उपसभापति
- केही दिनअघिमात्र श्रीमान् रेशम चौधरीसँग एकता गरेकी रञ्जिता चौधरीको दल नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित
- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किए जसपाका सहअध्यक्ष रेणु यादव र महासचिव प्रदीप यादव
गोरखामा कसम खाएको थिएँ । त्यो आज पूरा भएको छ । जनताको आवाज भगवान्ले पनि सुनेजस्तो लाग्छ ।
सुधन गुरुङ
संयोजक, हामी नेपाल अभियान
काठमाडौं -प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नाम बुझाउने अन्तिम समयमा दलहरुबीच तीव्र ध्रुवीकरण भएको छ । सोमबारमात्र तीन फरक–फरक दलले आफ्नो दलमा नयाँ दल भित्र्याएको छ ।
सोमबार साँझ अबेर गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भयो । रास्वपाका सभापति रवि लामिछाने र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङबीच काठमाडौंको कमलपोखरीस्थित असिम साहको घरमा सातबुँदे सहमति भएको हो । सहमतिको चौथो बुँदामा कुलमान रास्वपाको उपसभापति हुने भनिएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल, र स्वर्णिम वाग्ले रहने,’ सहमतिमा भनिएको छ । योसँगै अब रास्वपामा घिसिङ, अर्याल र वाग्ले गरी तीन जना उपसभापति हुने छन् । दुई पार्टीबीचको एकतापछि पार्टीको नाम र चुनाव चिह्न रास्वापाकै रहने सहमतिपत्रमा उल्लेख छ ।
दुई दलको एकतामा काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई साक्षी राखिएको थियो । सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका छन् । दुई दलको एकताअघि आइतबार बिहानमात्र रास्वपाले बालेनलाई अबको प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको थियो । सातबुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने ।’
सहमति हुनसाथ रास्वपाका उपसभापति डिपी अर्याल समानुपातिक सूची फाइनल गर्न निर्वाचन आयोग पुगेका थिए । जनचाहनाअनुसार नै तीन नेता एक भएको अर्यालले बताए । ‘नेपाली जनताको चाहनाअनुसार सुशासन कायम गर्ने विषयमा पर्खिन ढिला भइसकेको छ । यही तीन जना नेताहरु जनताको आँखामा सँगै अगाडि बढेर देश समृद्ध बनोस् । सुशासन कायम होस् । भ्रष्टाचार अन्त्य होस् भन्ने चाहना सबैमा थियो । यसैका लागि यो सहमति भएको हो,’ सहमतिलगत्तै अर्यालले भने ।
कुलमानलाई यो अभियानमा सामेल गराउन हामी नेपाल अभियानका संयोजक सुधन गुरुङले विशेष भूमिका खेलेका थिए । आफूले जसरी पनि मिलाउँछु भनेर लागेको र आज पूरा भएको गुरुङले बताए । ‘गोरखामा कसम खाएको थिएँ । त्यो आज पूरा भएको छ । जनताको आवाज भगवान्ले पनि सुनेजस्तो लाग्छ,’ गुरुङले भने । उनले आफूहरु ‘वाचडग’का रुपमा बाहिर नै रहने बताए ।
नेकपा र नागरिक उन्मुक्तिबीच एकता
सोमबार नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ । दुई पार्टीका शीर्ष नेताले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।
सहमतिपत्रमा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ । यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
एकीकृत पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिँदै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ । विशेषगरी नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएको टीकापुर घटनाको विषयलाई पनि सहमतिमा समेटिएको छ । सहमतिपत्रमा टीकापुर घटनाका सन्दर्भमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झूटा मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख छ । यस्तै महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका सीमान्तकृत समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने विषयलाई पार्टीले मुख्य कार्यदिशा बनाएको छ ।
मधेसवादी दलमा पनि एकता
सोमबार नै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा अशोक राईसँग गएका नेताहरु फर्केका छन् । सहअध्यक्ष रेणु यादव र महासचिव प्रदीप यादव उपेन्द्र नेतृत्वको जसपामा फर्केका हुन् । यसअघि ओली नेतृत्वको सरकारले जसपा फुटाएको थियो ।
आइतबारमात्र उपेन्द्र नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताको सहमति भएको थियो । ‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गर्न एकीकरण गर्ने निर्णय गरियो,’ यादव र ठाकुरबीचको सहमतिमा भनिएको छ ।
यसैबीच अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति गरेका छन् ।