टक्सार- जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका-१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । मतदानको जानकारी र भोजपुरमा हुने निर्वाचनका विषयमा विद्यार्थीलाई जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए । विद्यालयस्तरमा सञ्चालनमा हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।
निर्वाचनसँग सम्बन्धितसँगै सुरक्षाका विषयमा गरिएको कार्यक्रममा प्रमुख सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामा, विद्यालयका प्रधानाध्यापक धु्रवराज रेग्मी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको कार्यक्रमले विद्यार्थीहरुलाई मतदाता शिक्षाका बारेमा जानकारी पाइएको प्रअ रेग्मीले बताए। जिल्लामा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल मतदाता एक लाख २५ हजार ७६६ कायम गरिएको छ । पुरुष मतदाताको सङ्ख्या ६५ हजार ७८८ र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।