जेन-जी विद्रोहको मुख्य सन्देश थियो- पुराना दलले थिलथिलो पारेको शासन प्रणालीलाई सुधार्न नयाँ शक्ति आउनैपर्छ । भदौ २३ र २४ गते भएको विद्रोहको तारो पुराना दल बने । कारण थियो- वर्षौंदेखि छुद्रो बनेको शक्तिशाली दलका शक्तिशाली नेताहरुको बोली ।
खासमा स्थायी सत्ता कर्मचारी प्रशासन हो । कर्मचारी प्रशासन औपचारिकतामा विश्वास गर्छ । परिवर्तनको विषयमा निकै सोचविचार गर्छ । यही विषयमा सुधार गर्न शासनव्यवस्थामा राजनीतिक दल, संसद् हुन्छन् । यिनले दैनिकी सहज बनाउन कर्मचारी प्रशासनको अडानविरुद्ध बोल्छ र जनताको काममा सहजीकरण गरिदिन्छ ।
तर राजनीतिक दल र नेताहरु उनै कर्मचारीहरुसँग मिल्न थाले । बरु सेटिङमा उनीहरुसँग भ्रष्टाचारमा संलग्न भए । जनताको भागमा दुःख, बेरोजगारी, निराशाबाहेक केही परेन । यसैले पनि जनताले यी शीर्ष दलमाथि रिस पोखे । यो आन्दोलनको एउटै सन्देश भनेको जनताले चुनेको प्रतिनिधिले जनताको लागि काम गरोस् भन्ने हो । यसका लागि जनताले नयाँ शक्तिहरु एक हुनुपर्छ भनेर सुझाइरहेका छन् ।
यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, देशको लोडसेडिङ हटाएर उज्यालो बनाएका कुलमान घिसिङ, काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहलगायतलाई एकै स्थानमा उभिन सुझाएका छन् । यतिमात्र हैन, सुधार चाहेका तर पुराना दलमा हेपिएका युवा नेताहरुलाईसमेत यो वैकल्पिक शक्तिमा एक भएको जनताले हेर्न चाहिरहेका छन् । यसको सुरुआत रास्वपा र काठमाडौंका मेयर बालेनबीच आइतबार बिहानै भएको सहमतिबाट भएको छ ।
रास्वपा सभापति रवि लामिछाने र बालेनलाई यसअघि धेरैले चुम्बकका एकै ध्रुव मान्थे । उनीहरु मिल्नै नसक्ने ध्रुव भए पनि जनताले आवश्यक ठानेकोले मिलेको धारणा लामिछानेले राखिसकेका छन् । यो एकदम स्वागतयोग्य विषय हो । वैकल्पिक शक्ति निर्माणमा कुलमानसमेत मिल्ने गरी वार्ता अघि बढिरहेको छ । यो मिलनलाई लिएर पुराना दलले युक्रेनसँग दाँजिरहेका छन् ।
युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीसँग दाँजेर उनीहरुले मिथ्या आरोप लगाउन थालेका छन् । यो प्रश्नलाई समझदारी सम्झनुपर्छ । नयाँ दलहरु चारतिर छरिनुभन्दा एक हुनु स्वाभाविक संकेत हो । जेन-जी विद्रोहपछि सतहमा आएको पात्रहरु पनि अब एकै ठाउँमा उभिनुपर्छ । बुद्ध एयअरका सञ्चालक वीरेन्द्र बस्नेतदेखि अरु जेन-जी युवाहरु पनि वैकल्पिक शक्तिमा आउनुपर्छ । यो मिलनमा कर्मचारी प्रशासनसँग मिलेर जनतालाई दुःख दिने होइन उनीहरुको दैनिकीलाई सहजीकरण गर्ने काममा भने यो शक्ति लाग्नैपर्छ । यसो भएमामात्र यो एकताले सार्थकता पाउने छ ।