वासिङ्टन- थाइल्यान्ड र कम्बोडियाका दुई नेताबीच हप्तौँंदेखि जारी सीमामा भएको झडपपछि अघिल्लो दिन भएको युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रसंशा गरेका छन् ।
“म दुबै महान नेताहरूलाई यो द्रुत र धेरै निष्पक्ष निष्कर्षमा पुग्न प्रयोग भएको उनीहरूको प्रतिभाको लागि बधाई दिन चाहन्छु,” राष्ट्रपति ट्रम्पले भने । उनले डिसेम्बरको सुरुमा सीमा द्वन्द्व फेरि सुरु भएपछि तोडिएको अघिल्लो युद्धविरामको श्रेय लिएका छन् ।
ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा राष्ट्रपति ट्रम्पले यी सबै परिस्थितिहरू हुनुपर्दछ भन्दै अन्तिम परिणामलाई ‘छिटो र निर्णायक’ भएको बताएका छन् । उनले चीन र मलेसियासँगै मध्यस्थताको प्रयासमा संलग्न रहेको वाशिङ्टनले शान्ति प्रयासमा सहयोग गर्न पाउँदा आफुले गर्व महसुस गरेको बताए ।
आइतबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताअघि ट्रम्पले विश्व द्वन्द्व अन्त्य गर्न आफ्नो स्वघोषित भूमिकाको प्रशंसा गर्दै भने, “सायद यस कामका लागि संयुक्त राज्य अमेरिका वास्तविक ‘संयुक्त राष्ट्रसङ्घ’ बनेको छ । उनले भने, “संयुक्त राष्ट्रसङ्घले विश्व शान्तिमा सक्रिय र संलग्न हुन थाल्नु पर्छ!”
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिबार थाइल्यान्ड र कम्बोडियाबीच भएको युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई ‘यो प्रतिबद्धतालाई तुरुन्त सम्मान गर्न’ आग्रह गरेका छन् । तीन हप्ताको लडाइँमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
थाइल्यान्ड र कम्बोडियाले शनिबार आफ्नो सम्झौताको घोषणा गर्दै सैनिकको आवतजावतमा रोक लगाउने र सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई जतिसक्दो चाँडो घर फर्कन दिने प्रतिबद्धता व्यक्त गरेका छन् । युद्धविरामपछि चीनका उच्च कूटनीतिज्ञ वाङ यीले कम्बोडिया र थाई विदेशमन्त्रीसँग आइतबारदेखि सुरु भएको दुई दिने वार्ताका लागि आमन्त्रण गरेका थिए ।
वाङले कम्बोडियाली समकक्षी प्राक सोखोनलाई युद्धविरामले ‘शान्ति पुनर्निर्माणको प्रक्रिया सुरु भएको’ बताएका छन् । “दुवै पक्षले विस्तृत र दिगो युद्धविरामलाई प्रबद्र्धन गर्न एकपछि अर्को कदम अघि सार्नुुपर्छ र आपसी विश्वास पुनर्निर्माण गर्नुपर्छ,” वाङले भने ।