निष्पक्ष र भयरहित वातावरणको ग्यारेण्टी सरकारले गर्छ । कुनै पनि संशय नरहनेगरी हामी काम गर्दै छौं ।
सुशीला कार्की
प्रधानमन्त्री
काठमाडौं- प्रतिनिधिसभा विघटनपछि देश लामो राजनीतिक अन्योलमा फसिरहँदा प्रधानमन्त्री सुशीला कार्कीले ठूला दलका शीर्ष नेताहरूसँग संवाद थालेकी छन् । भदौ अन्तिममा प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले आफ्नै पहलमा पहिलोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालसँग बालुवाटारमा राजनीतिक संवाद गरेकी हुन् ।
चुनावमा जान सबै दल तयार भएका छौं । कांग्रेस तयार छ । एमाले पनि तयार नै छ । तर वातावरण बनिसकेको छैन ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
उनले थालेको संवादलाई सरकारले चुनावतर्फको निर्णायक कदमका रूपमा प्रस्तुत गरेको छ । दलहरूले पनि चुनावबाट पछि नहटेको सन्देश दिएका छन् । तर, उनीहरूको भनाइले निर्वाचनलाई लिएर सरकारप्रति भरोसा अझै पूर्णरूपमा स्थापित हुन नसकेको देखाएको छ । यद्यपि, बैठकपछि प्रधानमन्त्री कार्कीले निर्वाचनबारे नेताहरूबाट प्रतिबद्धता आएको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘दिगो लोकतन्त्र र स्थिरताका लागि फागुन २१ को निर्वाचन सफल पार्नु सबैको साझा दायित्व हो भन्ने हृदयंगम गरी दलहरूबाट प्राप्त प्रतिबद्धता स्वागतयोग्य छ । निष्पक्ष र भयरहित वातावरणको ग्यारेण्टी सरकारले गर्छ । कुनै पनि संशय नरहनेगरी हामी काम गर्दै छौं ।’
एमाले चुनावदेखि भाग्दैन तर सुरक्षाको प्रत्याभूति छैन । लोकतन्त्रलाई ट्र्याकमा ल्याउन गर्ने चुनाव नै हो । तर, हामी अदालतको फैसला कुर्दै छौं ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले
बैठकमा प्रधानमन्त्री कार्कीले तीन नेतालाई फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरेकी थिइन् । उनको भनाइ उद्धृत गर्दै प्रेस संयोजक रामबहादुर रावलले पत्रकारहरूसँग भने, ‘यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे हुँ । राष्ट्रपतिज्यूबाट पाएको कार्यादेशअनुसार हामी चुनावको तयारीमा छौं । यो निर्वाचन जसरी पनि सफल पारौं ।’
दलका नेताहरूको सार्वजनिक अभिव्यक्तिलेचाहिँ रावलले भनेजस्तो सहमति भएको छनक देखाएको छैन । बैठकपछि कांग्रेस सभापति देउवाले पत्रकारहरूसँग भने, ‘चुनावमा जान सबै दल तयार भएका छौं । कांग्रेस तयार छ । एमाले पनि तयार नै छ । तर वातावरण बनिसकेको छैन ।’
देउवाले यसअघि पनि दलहरूले निर्वाचनको निर्वाध प्रचार गर्न पाउने स्थिति नरहेको भन्दै चिन्ता प्रकट गरेका थिए । यसमा सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव थियो । वर्तमान राजनीतिक संकट समाधान निर्वाचनबाट मात्रै हुने निष्कर्षमा कांग्रेस रहेको भन्दै उनले भयरहित, निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन सरकारले अझै थुप्रै काम गर्नुपर्ने जनाएका थिए । शनिबार पनि उनले त्यही विषय प्रधानमन्त्री कार्कीसँग दोहो¥याएका हुन् ।
एमाले अध्यक्ष ओलीको धारणा पनि देउवाको जस्तै थियो । उनले चुनाव अस्वीकार नगरे पनि सुरक्षाको प्रत्याभूति र राजनीतिक निष्पक्षताको प्रश्न उठाए । ओलीको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष रघुजी पन्तले प्रभावसँग भने, ‘एमाले चुनावदेखि भाग्दैन तर त्यसको वातावरण चाहिँदैन ? चाहिन्छ छ नि । लोकतन्त्रलाई ट्र्याकमा ल्याउन गर्ने चुनाव नै हो । तर, हामी अदालतको फैसला कुर्दै छौं भन्नुभयो ।’
ओलीको दल एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोेच्च अदालतमा कानुनी चुनौती दिएको छ । त्यसमा कांग्रेस पनि थपिएको छ । १२ जना कानुन व्यवसायीले पनि रिट दायर गरेका छन् । यो रिट संवैधानिक इजलासमा छ । तर, अन्तिम सुनुवाइ भएको छैन ।
हालै पूर्वन्यायाधीश फोरमले प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन दुवैको संवैधानिक परीक्षणपछि मात्रै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने धारणा अघि सारेको थियो । यसले कांग्रेस र एमालेलाई बल पुगेको छ । त्यही भएर प्रधानमन्त्री कार्कीले शनिबार बोलाएको बैठकमा पनि ओलीले अदालत पुगेको मुद्दाको किनारा अनिवार्य हुनुपर्ने कोणबाट धारणा राखेका हुन् ।
उसो त जेन–जी विद्रोहका क्रममा भएको बल प्रयोग र विध्वंशको जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरेकोप्रति ओली असन्तुष्ट छन् । त्यसले चुनावी सुरक्षाभन्दा पनि राजनीतिक प्रतिशोधको आशंका ओलीमा बढेको देखिएको छ ।
बैठकमा नेकपाका संयोजक दाहाल फागुन २१ कै मितिमा चुनाव हुनुपर्ने पक्षमा स्पष्ट देखिएका छन् । उनले यताउता नगरी जसरी भए पनि चुनाव हुनुपर्ने बताएका थिए । दाहाल यसअघिदेखि नै चुनावमा जानुपर्नेमा स्पष्ट छन् । तर, सरकारले दलका नेतृत्वहरूसँग छलफल गर्नुपर्ने बताउँदै आएका थिए ।
यसअघि प्रधानमन्त्री कार्कीलाई भने तीन दलका मुख्य नेताको मुखै हेर्दिनँ भन्ने आफ्नै अभिव्यक्तिले अप्ठेरो परेको थियो । यस्तोमा हालै राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित देउवा, ओली र दाहालको भेटवार्ता भएको थियो । त्यसको दुई दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेतासँग कार्कीले भेटवार्ता गरेकी हुन् । यसले शीर्ष तहमा लामो समयदेखि कायम संवादहीनता तोडिएको छ ।