पोखरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । उनले गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजत अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए । उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे।
सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।