काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताएकाछन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सयदिन पूरा भएको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी मन्त्रालयमार्फत सम्पादित कामको विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री घिसिङका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सहरी पूर्वाधार विस्तार, फोहोर व्यवस्थापन, नदी संरक्षण र दीर्घकालीन सहरी योजना निर्माणमा उल्लेखनीय काम अघि बढाइएको छ । यस अवधिमा मन्त्रालयअन्र्तगतका चार रुग्ण ठेक्का तोडिएको छ । जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी संरचनामध्ये सामान्य क्षति (हरियो स्टिकर) भएका १४० भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेका मन्त्री घिसिङले जानकारी दिए । आंशिक क्षति (पहेँलो स्टिकर) भएका २४९ र पूर्ण क्षति (रातो स्टिकर) भएका ५१ भवनको विस्तृत क्षति मूल्याङ्कन ‘फास्ट ट्र्याक’मा भइरहेको बताउँदै उनले पुसभित्र पुनर्निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइने उल्लेख गरे ।
खेल पूर्वाधारतर्फ त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण तथा ‘हाइमास्ट फ्लडलाइट’ जडान सम्पन्न गरी हस्तान्तरण गरिएको छ । साथै कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत भई दोस्रो चरणको निर्माणका लागि १० अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितताको प्रक्रिया सुरु गरिएको मन्त्री घिसिङले बताए । उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध वार्तामार्फत समाधान गरी बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ । मन्त्री घिसिङले आफ्नो कार्य सम्पदानबारे जानकारी दिँदै स्थानीयवासीसँग विगतका सरकारी सम्झौताहरू कार्यान्वयन सुरु गरिनुका साथै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको बताए ।

मेलम्ची खानेपानीको मुहान बन्द गराइएकामा वार्ताबाट समाधान गरी उपत्यकामा पानी वितरण पुनः सुरु गरिएको मन्त्री घिसिङले बताए । उनका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजनाको अवधारणापत्र स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाइएको छ । काठमाडौँ भिजनअन्तर्गत उपत्यकाको एकीकृत सहरी विकास मार्गचित्रलाई अन्तिम रूप दिने काम भइरहेको छ । निर्माण क्षेत्र सुधारका लागि बाँस संरचना डिजाइन मार्गदर्शन-२०८२, भवन निर्माण मार्गदर्शन-२०८२ र भूकम्पप्रतिरोधी भवन निर्माण संहिता परिमार्जन जारी गरिएको छ । स्वास्थ्य पूर्वाधारतर्फ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बेनी अस्पताल, सुर्खेत र धनगढी प्रादेशिक प्रयोगशाला तथा कञ्चनपुर प्रसूति तथा बालरोग अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।
बागमती नदी सफाइ अभियानअन्तर्गत गोकर्णेश्वरबाट गुह्येश्वरीसम्म ढलमुक्त गर्ने कार्य, नदीबाट लेदो हटाउने, गौरीघाटमा ‘ट्र्यास बेरियर’ जडान र थप पाँच स्थानमा जडान प्रक्रिया अघि बढाइएको छ । नदी करिडोर क्षेत्रमा ‘हाइमास्ट फ्लडलाइट’ र ‘स्मार्ट लाइटिङ’ जडानका लागि टेण्डर गरिएको छ । झोलुंगे पुलतर्फ बाढीपहिरोबाट क्षतिग्रस्त ४५ पुल पुनर्निर्माणका लागि स्रोत सुनिश्चित र कर्णाली नदीमा दौलतपुरघाट मल्टिस्पान झोलुङ्गे पुल निर्माण सुरु तथा राष्ट्रिय झोलुङ्गे पुल नीति-२०८२ मन्त्रिपरिषद् पेसको प्रक्रियामा रहेको छ ।
नीतिगत सुधारअन्तर्गत आवासको अधिकार नियमावली-२०८२, बागमती कार्ययोजना (२०२५-४५), नगर विकास कोषसम्बन्धी कानुन संशोधन, ग्रामीण पूर्वाधार विकास नीति तयारी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।