एएफपी- बंगलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहेका छन् । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका उनी आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा रहेकाे छ ।
६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोडेका थिए । बिएनपीका कार्यवाहक अध्यक्ष रहेका उनीले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उनकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आएका छन् ।
स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताउनुभए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गरेका थिए । तर त्यसको केही समयपछि उनी अस्पताल भर्ना भएका छन् र हाल सघन उपचार कक्षमा उपचाररत छन् ।
यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।
शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उनलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उनले सधैँ अस्वीकार गर्दै आएका छन् ।
बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गरेका छन् ।राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गरिरहेका रहमान युवावस्थामै बिएनपीमा सक्रिय थिए । उनका पिता जियाउर रहमान पूर्वराष्ट्रपति तथा सेना प्रमुख थिए। उनको हत्या रहमान १५ वर्षको हुँदा भएको थियो । त्यसपछि उनी आफ्नी आमाको राजनीतिक छायामा हुर्केका थिए ।
रहमानको राजनीतिक यात्रामा विवाद पनि जोडिएका छन् । उनीमाथि भाई-भतिजावाद र भ्रष्टाचारको आरोप लाग्दै आएका छन्, जसलाई उनले सधैँ राजनीतिक प्रतिशोधको परिणाम भन्दै खारेज गरेका छन् । सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि हिरासतमा यातना दिइएको दाबीसमेत उनले गरे । उपचारका लागि लन्डन गएका उनी त्यसपछि लामो समय स्वदेश फर्कन सकेका थिएनन् ।
बेलायतमा रहँदा उनले परिवारसँग शान्त जीवन बिताएका थिए । तर शेख हसिनाको शासन अन्त्यपछि उनी सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा देखिन थालेका छन् र बिएनपी समर्थकहरूका लागि आशा र एकताको केन्द्रको रूपमा उदाएका छन् ।