भद्रपुर- दमक नगरपालिका-७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२-०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका-६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।