काठमाडौं - राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ ।
मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन् ।प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १/१ प्रदेश सांसद छन् ।
मतभारमा कांग्रेस, एमाले र जसपा नेपाल छ । चौथोमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ ।मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/रउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पुस २८ गते पाउनेछन् भने मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।