बंगलादेशमा फेब्रुअरी १२ का लागि आमनिर्वाचन घोषणा गरिएको छ । गत वर्ष भएको विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढलेसँगै बनेको अन्तरिम सरकारलाई निर्वाचनको म्याण्डेट छ । उक्त आन्दोलनको मोर्चाको नेतृत्व सम्हालेका एकमध्ये विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्युपछि भड्किएको हिंसा थप भड्किन थालेको देखिएको छ ।
हादीको मृत्युपछि बिहीबार बंगलादेशमा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएका थिए । अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्म युनुसले बंगलादेशी नागरिकलाई हतारमा निर्णय नगर्न भन्दै देशवासीको नाममा सम्बोधन गरिसकेका छन् । अघिल्लो शुक्रबार हादी ढाकाको एक मस्जिदबाट बाहिरिने क्रममा गोली हानिएको थियो । डिसेम्बर १५ मा थप उपचारका लागि सिंगापुर लगेका उनको डिसेम्बर १८ मा अस्पतालले मृत्यु घोषणा गर्यो ।
हादी ढाका-८ बाट निर्वाचनको उम्मेदवारको रुपमा प्रचार गरिएका व्यक्ति थिए । यसैबीच बंगलादेशमा एक हिन्दू युवाको हत्या भएको छ । त्यहाँ धर्मको अपमान गरेको भन्दै मैमनसिंह जिल्लामा भीडले कुटेर उनको हत्या गरेको बताइएको छ । शुक्रबार राति उनको हत्या भएको र उक्त घटनामा संलग्न १० जनालाई पक्राउ गरिसकेको बंगलादेशी प्रहरीले जनाएको छ । हादीको हत्या र हिन्दू युवाको हत्याले बंगलादेशको अवस्था पुन अशान्तितर्फ धकेलिने सम्भावना बढेको छ । इन्कलाब मञ्चका सदस्यसमेत रहेका उनको शनिबार अन्त्येष्टिमा ढाकाको संसद् भवनपरिसरमा हजारौं युवा उपस्थित भएका थिए । इन्कलाव मञ्चले उनको हत्यारा पत्ता लगाउन सरकारलाई २४ घण्टाको अल्टिमेटम दिइसकेको छ ।
यहीबीच त्यहाँको अवामी लिगका नेताको घरमा आक्रोशित युवाहरुले तोडफोड गरेका थिए । यो घटनाले बंगलादेशको अवस्था नाजुक बन्दै गएको देखाउँछ । अघिल्लो सरकारकी प्रधानमन्त्री शेख हसिनालाई भारत सरकारले संरक्षण दिइरहेको छ । उनलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला दिइसकेको र फिर्ता गर्न भारतसँग माग गरिसकेको छ । तर भारतले यसको कुनै जवाफ दिएको छैन ।
यो घटनाले दुई देशबीच थप तीक्तता बढ्ने देखिन्छ नै तर बंगलादेशमा थप अशान्ति मच्चिने र निर्वाचन नहुने देखिन्छ । यो घटनाको लहर नेपालसम्म आइपुगिन्न भन्न पनि सकिन्न । किनभने नेपालमा पनि फागुन २१ गते निर्वाचन घोषणा गरिएको छ । जेन-जी विद्रोहले ढालेको सरकारका प्रमुख केपी शर्मा ओली पुनः उत्तेजक भाषण दिन अघि सारिरहेका छन् । दक्षिण एसियाली मुलुकहरु श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपालमा एकैपटक प्राकृतिक मौसमहरु परिवर्तन भइरहन्छ । राजनीतिको हावा पनि यस्तै चलिरहेको छ । त्यसैले नेपाली नेताहरुले संयमता अपनाऔं ।