सिन्ह्वा- श्रीलंकाले पहिलो पटक सर्वसाधारणका लागि ५-जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलंका टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५-जी सेवा सुरु गरेका छन् ।
श्रीलंका टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च गतिको इन्टरनेट तथा ५-जी प्रविधिका अनुप्रयोगहरू प्रदर्शन गरेको थियो । श्रीलंका टेलिकम समूहका अध्यक्ष मोथिलाल दे सिल्भाले ५-जी प्रविधिले डेटा आदान-प्रदानलाई छिटो बनाउने मात्र नभई कृत्रिम बौद्धिकता आधारित सेवाहरूको प्रयोगमा पनि व्यापक योगदान दिने बताए ।
डाइलग एक्सियाटाले बिहीबार ‘डाइलग ५-जी अल्ट्रा’ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । देशभर रहेका दुई सयभन्दा बढी सक्रिय ५-जी केन्द्रमार्फत यो सेवाले पन्ध्र लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको छ । डाइलग एक्सियाटाका समूह प्रमुख कार्यकारी अधिकृत सुपुन वीरासिंहेले ५-जी सेवा श्रीलंका को डिजिटल संरचना बलियो बनाउन र भविष्यमा नवप्रवर्तन, उत्पादनशीलता तथा डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण कदम रहेको बताएका छन् ।