काठमाडौं- गाेकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गाेकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको हाे ।
सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जिपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ ।
गाेकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गाेकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ । जंगलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ । पर्खाल ठाउँठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ । यो सडक खोले गाेकर्णेश्वर महादेव मन्दिरअघिबाट सवारीसाधन दक्षिणढोका निस्कन सहज हुन्छ ।
गाेकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ । मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ । अव्यवस्थित बस्तीका कारण पनि गाेकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।
पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।
गाेकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाहिने पाउको चिन्ह रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोकोसमेत बेवास्ता गर्दै हजारौँ भक्तजन गाेकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् ।