कञ्चनपुर- यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।
नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो । यसलाई एभिन पोक्स पनि भनिन्छ । सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्ने उहाँले उल्लेख गरे ।
केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए । सो रोग सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए । “यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ, यसले कुखुराको मृत्युदर घटाउन मद्दत गर्छ”, उनले भने ।
अन्य कुखुरा फार्ममा उक्त रोगको सङ्क्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ । समयमै नियन्त्रण नगरेमा किसानलाई ठूलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ ।
पशुपन्छी शाखाले किसानलाई सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ । साथै रोगको शंका लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ ।
फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशुपन्छी शाखाका चिकित्सक पाण्डेयको भनाइ छ । कुखुराका चल्ला बाह्य क्षेत्रबाट आयात गर्दा त्यसबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।