डिजिटल युगको प्रवेशसँगै विश्वमा कतिपय काम मेसिनबाटै फत्ते हुन्छ । विश्वका विकसित मुलुकमा मतदान पनि मेसिनबाटै हुन थालेको वर्षौं भयो । नेपालमा भने केही कम्पनीले यो प्रक्रिया थालेको छ । यस्तै मध्येमा एक हो, रामलक्ष्मण इनोभेसन प्रालि । सीमित स्रोतसाधनका बाबजुद् रामलक्ष्मण इनोभेसनले विभिन्न समयमा मतदानमा आफ्नो मतदान प्रणाली प्रयोग गर्दै आएको छ ।
यसपटक नेकपा एमालेको ११औं महाधिवेशनको मतदान प्रणाली यही कम्पनीले पाएको छ । उसो त यो कम्पनीले चार वर्षअघि एमालेको चितवन महाधिवेशनमा पनि यो जिम्मेवारी सम्हालेको थियो । त्यतिबेला करिब सात घण्टामा सकाएको मतदान यसपटक भने निकै ढिलासुस्ती भएको छ । झण्डै एक घण्टामा १०० जना प्रतिनिधिलेमात्र मत खसाल्न सकिरहेका छन् । यो हिसाबले दुई हजार २६३ प्रतिनिधिलाई मत हाल्न २३ घण्टा लाग्ने पक्का भएको छ । यही गतिमा मतदान चल्ने हो भने बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान आज बिहान ८ बजेमात्र सकिने देखिन्छ ।
किन यसरी ढिला भइरहेको छ त मतदान ? एमाले महाधिवेशनका लागि गठन भएको निर्वाचन आयोगले मतदातामा डिजिटल साक्षरता नहुँदा मतदान ढिलाइ भइरहेको बताएको छ । कोही प्रतिनिधिले नौ मिनेटमा मतदान सक्काउँदा कोहीलाई भने दुई घण्टा नै लागेको देखिन्छ । यसको मुख्य कारण प्रक्रियाको समस्या देखिन्छ । यो महाधिवेशनमा ६०२ जना उम्मेदवार छन् । यसमा ३०१ जना केन्द्रीय कमिटी र विभिन्न विभागका उम्मेदवार छन् ।
केही केन्द्रीय सदस्य निर्विरोध चयन भए पनि मेसिनको सूचीमा चढाइएको नाममा तोकिएको उम्मेदवारको संख्या जति छ उतिमै कोरम नपुगे मतदान ‘सबमिट’ नै नहुनेगरी प्रणाली बनाउँदा ढिलासुस्ती भएको देखिन्छ । जस्तोः एमालेमा पाँच जना उपाध्यक्ष छन् । कतिलाई लाग्न सक्छ पाँचमध्ये दुईलाई मात्र मत दिउँ । तर भोटिङ मेसिनमा पाँच जनालाई मत नदिई सबमिट गर्न नपाउने प्रणाली राखिएको छ । त्यसैगरी ७२ जना खुला केन्द्रीय सदस्यको कोटा छ । यी मध्ये आफूले चिनेका वा १०-२० जनालाई मात्र मत दिएर सबमिट गर्ने व्यवस्था हुनुपर्नेमा ७२ जनालाई नै मत हालेपछि मात्र प्रणालीले स्वीकार गर्ने व्यवस्था गरिएको छ । जसकारण पनि मतदान निकै ढिला भएको हो ।
कागजी मतपत्रमा यस्तो विषय बाध्यकारी हुँदैन थियो । यसबारे मेसिनमा नाम फिट गर्दा नेताहरुले सोच्नुपर्ने थियो । नसोच्दा र पूर्वतयारी नगर्दा मतदानका लागि प्रतिनिधिले अनिँदो त बस्नुपरेको छ नै एमालेलाई पनि आर्थिक बोझ थपिने भएको छ । प्रविधिको प्रयोग गरेर ‘स्मार्ट’ देखाउन खोजिएको महाधिवेशन उल्टै टाउको दुखाइ बनेको छ । यो पूर्वतयारीमा भएको कमजोरीकै कारण हो । यो घटनाबाट सबैले पाठ सिकून् ।