सुदूरपश्चिम - जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको हो ।
कम क्षति पुगेका भवनका कोठाको मर्मत र रङ्गरोगनको काम गरेर मन्त्रालय तथा अन्य कार्यालयले नियमित काम भने पहिले नै सुरु गरिसकेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले प्रचलित नियम र प्रक्रियाभित्र रहेर मर्मतसम्भारको काम गर्नुपर्ने र बजेट पनि पर्याप्त नभएकोले क्षति पुगेका संरचनाको मर्मत सम्भार गर्न सकस भइरहेको बताए ।
“बस्न मिल्ने कोठाको सरसफाई र समान्य मर्मत गरेर जसोतसो काम चलाइरहेका छौँ” उनले भने, “चालु वर्षको बजेटमा मर्मत सम्भार शीर्षकमा छुट्याइएको बजेट निकै कम छ, तर आन्दोलनमा पुगेको क्षतिको मूल्याङ्कन निकै बढी भएकोले पर्याप्त बजेट अभावमा समयमै मर्मत गर्न ढिलाइ भएको छ ।” भवन संरचनाको मर्मत सम्भारका लागि प्रदेशका मन्त्रालय तथा कार्यालयले चालु वर्षको बजेट रकमलाई रकमान्तर गर्नका लागि आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको बताइएको छ ।
जेनजी घटनापछिको परिस्थितिमा खर्च कटौती गरेर मितव्ययी ढङ्गले जानुपर्ने परिपत्र नेपाल सरकारले प्रदेश सरकारलाई गरेको थियो । घटना लगत्तै प्रदेश सरकारले पनि रु १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने, प्रदेश सरकार मातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्त समितिमार्फत् कार्यान्वयन नगर्ने नगराउने, बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठितर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौति गर्नेलगायतका निर्णय गरेको थियो ।
आगजनी र तोडफोडका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, मातहतका विभिन्न कार्यालय, प्रदेशसभा सचिवालयलगायतका भवनका धेरै कोठा बस्न नमिल्ने गरी क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेशसभाको भवनमा क्षतिपुगेपछि लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा सचिवालय, विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले मर्मतका लागि पर्याप्त बजेट स्रोतको अभाव रहेको र भएको बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा मर्मत सम्भारमा ढिलाइ भइरहेको बताए ।
यद्यपी प्रदेशसभाको भवनलाई बस्न मिल्नेगरी मर्मत गरेर प्रदेशसभाको बैठक यही पुस महिनाभित्र सुचारु गर्न पहल भइरहेको छ । आगजनी र तोडफोडबाट क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय अर्को भवनमा सारिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा क्षति पुगेका कोठाको मर्मत एवं रङ्गरोगन गरेर काम चलाइएको छ ।
सङ्घीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालय, भन्सार, आन्तरिक राजश्व, लगायतका कार्यालयले क्षति पुगेका कोठाको समान्य मर्मत गरेर सेवा प्रवाह सुरु गरिसकेका थिए । ठूलो क्षति पुगेका भवन संरचनाको मर्मत सम्भारमा भने अझैँ हुन सकेको छैन । जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट कैलाली जिल्लामा सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको थियो । क्षतिपुगेर प्रयोग गर्न नमिल्ने अवस्थाका कतिपय भवनका कोठामा रातो स्टिकर टाँस गरिएको छ ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका वरिष्ठ इन्जिनीयर झङ्कर थापाले भन्नुभयो, “सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको छ, क्षति पुगेका कतिपय भवनका कोठा प्रयोग गर्न नमिल्ने देखिएकोले ‘आंशिक रेड स्टिकर’ टाँस गरेका छौँ ।” जेनजी प्रदर्शनका क्रममा कैलाली जिल्लामा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, निजी घरसमेत १३७ भवनमा आगजनी र तोडफोड भएको थियो । ६६४ सवारी साधन नष्ट भएका थिए ।