काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा करिब सात खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । गत साउनदेखि कात्तिक महिनासम्मको अवधिमा छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा विपे्रषण आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । कात्तिक महिनामा मात्र एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।
आव २०८२/८३ को साउनदेखि कात्तिकसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर चार अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको जनाइएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर सात खर्ब ५४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आय पाँच खर्ब ५९ खर्ब २९ करोड रहेको थियो ।
उक्त चार महिनामा संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख ४५ हजार ९७३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जाँदा एक लाख २७ हजार ८३७ जना श्रम स्वीकृति नवीकरण गरेर गएका छन् । अघिल्लो वर्षको यसै अवधिमा संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख ४७ हजार ४७८ र श्रम स्वीकृति नवीकरण गरेर ९४ हजार १०५ जना रोजगारीमा गएका थिए । अघिल्लो वर्ष पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या तुलनात्मकरुपमा बढी देखिएको छ ।

चालु आवको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड, भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड र असोज महिनामा दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । असोजमा चाडपर्व मनाउनका लागि परिवारलाई खर्च पठाउनेले गर्दा बढी रकम भित्रिएको पाइएको छ । असोजको तुलनामा कात्तिकमा विप्रेषण आप्रवाह घटेको देखिए पनि अघिल्लो वर्षको कात्तिक महिनाको भन्दा यस वर्ष बढी नै रेमिट्यान्स भित्रिएको छ ।
विगतका वर्षको चार महिनाको तथ्यांक हेर्दा आव २०८१/८२ को चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड, २०८०/८१ को चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड र २०७९/८० को चार महिनामा तीन खर्ब ७८ खर्ब चार करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।
वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नु र वैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति बढ्दा विपे्रषण आप्रवाह बढेको पाइन्छ । राष्ट्र बैंकले वैधानिक माध्यमबाट भित्रने रिमिट्यान्सको मात्र तथ्यांक राख्ने गरेको छ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा मेरुदण्डको भूमिका खेल्दै आएको छ । समग्र अर्थतन्त्रमा झण्डै ३० प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ । पछिल्लो समय सरकारले अवैधानिक बाटोबाट रकम पठाउने प्रवृत्ति रोक्न नेपालको बैंकमा रेमिट्यान्स खाता खोली त्यसमा पैसा पठाउँदा अन्य खातामाभन्दा एक प्रतिशत बढी ब्याज दिनेलगायत विभिन्न सुविधा दिँदै आएको छ ।
सरकारले हालै सार्वजनिक गरेको अध्ययनका अनुसार रेमिट्यान्सबापतको ७२.३ प्रतिशत रकम दैनिक उपभोगमै खर्च हुने गरेको पाइएको छ । त्यस्तै १० प्रतिशतभन्दा बढी रकम रोजगारीमा जाँदा लागेको ऋण तिर्नमा खर्च हुँदै आएको देखिन्छ । कामदारले विदेशमा श्रम गरेर पठाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको विषय पनि उठ्दै आएको छ । यद्यपि, पछिल्लो दशकमा उक्त स्थितिमा सुधार भई सो रकमलाई बचत गर्ने र शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको पाइन्छ ।