एमालेको ११औं महाधिवेशन जारी छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जुटेका प्रतिनिधिहरु भन्छन्- केपी शर्मा ओलीले अब नेतृत्व छाडे हुने । एमाले नेपाली राजनीतिमा शीर्ष दल हो । कांग्रेस, माओवादीसँग एमालेले पालैपालो मिलेर सत्ताको नेतृत्व पनि गरिसकेको छ ।
यो खेलमा एमाले अध्यक्ष ओली सबैभन्दा अगाडि देखिएका छन् । खासगरी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको वरपर नेपालको सत्ता राजनीति घुमिरह्यो । यो कालमा भ्रष्टाचार रकेटको गतिमा बढ्यो भने उही गतिमा निराशा पनि ।
सरकारीस्तरबाट भएका कामसमेत छोपिने गरी तीन शीर्ष नेताको मनपरी बढ्न थाल्यो । जसकारण जेन-जी विद्रोह भयो र ओली नेतृत्वको सरकार गल्र्याम्म ढल्यो । यो विद्रोहको मुख्य सन्देश थियो - यी तीन शीर्ष नेतालाई अब राजनीतिबाट अवकाश दिनुपर्छ ।
यही म्यान्डेटअनुसार दलहरुमा महाधिवेशनको माग भयो । सबैभन्दा पहिले दाहाल नेतृत्वको दल माओवादीले महाधिवेशनको घोषणा गरेको थियो । तर अहिले दाहाल एकताको नाटक मञ्चन गरेर महाधिवेशनको मिति घर्किसक्दा पनि नेतृत्वमै बसिरहेका छन् । आलटाल गर्दै महाधिवेशनका मिति पुससम्म धकेल्न सफल देउवा चुपचाप छन् । यता ओली ११ वर्ष अध्यक्ष बनेर फेरि नेतृत्वमा आउने जबर्जस्त तयारी गर्दैछन् ।
यस्तो अवस्थामा नेतृत्व पुगेपछि लाजै लागेर होला १०औं महाधिवेशनबाट चुनेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अवकाश लिने निर्णय सुनाए । यी दुई नेताको इमान देखेर एमालेमा अरु नेताले पनि धमाधम दलको राजनीति छाड्ने घोषणा गरेका छन् । यसरी राजनीति छाड्ने घोषणा गरेका अर्को नेतामा अनुशासन आयोगका अध्यक्ष केशव बडाल हुन् ।
त्यसैगरी पोलिटब्युरो सदस्य दलबहादुर राना, केन्द्रीय सदस्य ईश्वरी जिएम, भीम केसी र म्याग्दीका भूपेन्द्रबहादुर थापाले पनि एमालेको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । खासमा यी नेताहरुले एमालेको राजनीति छाड्नुको मुख्य कारण ओलीको जिद्दीपन भएको बुझ्न कुनै किताब पल्टाइरहनुपर्दैन । विद्रोहले दिएको सन्देश र परिवर्तित समयको मागलाई सम्बोधन गर्न नसकेको ओलीले एमालेलाई अब कुन तहमा पु¥याउँला त्यो त आगामी निर्वाचनमा देखिनेछ नै । तर त्याग र इमानको राजनीतिमा भने ओली चुकेका छन् । युवराज र अष्टलक्ष्मीहरुको त्यागले ओलीलाई सांकेतिक रुपमा कुरीकुरी भने अवश्य गरेकै छ ।