काठमाडौं- संघीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनहरुलाई पुरस्कार प्रदान गरिएकाे छ ।
सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वाेत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्रविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको छ । पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ, र ७५ हजार ररुपैयाँ र ५० हजार रुपैयाँ रहेको छ ।
त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यसअघि कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले ‘संसद्सेवा’ स्मारिका विमोचन गरे ।
स्मारिकाको विज्ञका रुपमा सेवा गरेका राष्ट्रिय समाचार समिति (रासस)का आलेख शाखाप्रमुख कृष्ण अधिकारीलाई सम्मान गरे । विसं २०५८ मङ्सिर २८ गते संसद्सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।