त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्याएरै भन्छु, नर्बिसौँ । अहिलेलाई यत्ति मात्र, त्यस दिनको महाविनाशको छानबिन होस् । दोषी पहिचान होस्, अपराधीले सजाय पाउन् ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले
काठमाडौं- गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले जेन-जी विद्रोहको क्रममा भएको घटनाबारे बयानका लागि पक्राउ गर्ने चर्चामाझ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा आफू दोषी नरहेको दाबी गरेका छन् । आयोगमा बयान दिन जान इन्कार गरेका ओलीले ‘हिंसा भड्काउने तत्व’ घटनामा जिम्मेवार रहेको जिकिर गरे । तर, त्यसबारे प्रष्ट भनेनन् ।
‘हिंसा र तोडफोड त के फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा- विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो,’ ओलीले शनिबार पार्टीको एघारौं महाधिवेशनमा भने ।
किटान नगरे पनि ओलीले बाह्य शक्तिको आडमा देशभित्र हिंसा भड्काउने तत्व भनेर काठमाडौंका प्रमुख बालेन्द्र साह बालेन, हामी नेपालका सुधन गुरुङ र वर्तमान सरकारमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आरोपित गर्दै आएका छन् । दुई सुरक्षा संगठन नेपाली सेना र सशस्त्र प्रहरी बललाई पनि उनी सहयोगी बनेको टिप्पणी गर्छन् । यसबाहेक राजसंस्थापक्षधर शक्तिहरू, रास्वपासँगै तत्कालीन विपक्षी दलहरू घटनामा संलग्न भन्दै आफू पन्छिने गरेका छन् ।
जबकि विद्रोहको पहिलो दिन भदौ २३ गते १९ जना मारिँदा र दोस्रो दिन २४ गते विध्वंश मच्चिँदा अपराह्नसम्म ओली नै प्रधानमन्त्री थिए । अघिल्लो दिनको घटनापछि गृहमन्त्रीबाट रमेश लेखकले राजीनामा दिए । त्यस्तोमा दोस्रो दिन त गृहमन्त्रीको हैसियतमा पनि ओली नै थिए । त्यस दिन पनि ठाउँठाउँमा प्रहरीको गोली लागेर विद्रोहीहरूले ज्यान गुमाए । यसरी विद्रोह अवधिभर उनीसँगै सत्ता शक्ति थियो ।
कतिसम्म भने स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग नगरेको भन्दै उनले बालुवाटारमा सुरक्षा संगठनका प्रमुखहरूप्रति असन्तुष्टि जनाएका थिए । तीन महिनापछि भने ओलीले आफू निर्दोष रहेको अर्थमा दोष जति हिंसा भड्काउने तत्व भनेर अरुमाथि थोपरेका हुन् ।
जाँचबुझ आयोगमा बयान दिएका सरकारी अधिकारीहरूले ओलीलाई लक्षित गर्दै स्थिति नियन्त्रणमा लिन माथिल्लो तहबाट आएको निर्देशनको आधारमा बल प्रयोग गरेको बताइसकेका छन् । तर, बयान लिन पक्राउ नै गर्ने जाँचबुझ आयोगले तयारी गरिरहेको विवरण आइरहँदा घटनाको जिम्मेवारीबाट ओलीले आफैंलाई सफाइ दिएका हुन् ।
भ्रष्टाचार, कुशासन, आफन्तवाद र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध जेन-जी पुस्ता सडकमा आउँदा उनीहरू दुरुपयोग भएको ओलीको भनाइ छ । विद्रोहको दुई दिनलाई कहालीलाग्दा दिन भन्दै ओलीले विद्रोह महाविनाश भएको र त्यो कहिल्यै नबिर्सने बताए ।
‘त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्याएरै भन्छु, नर्बिसौँ,’ उनले भने, ‘अहिलेलाई यत्तिमात्र त्यस दिनको महाविनाशको छानबिन होस् । दोषी पहिचान होस्, अपराधीले सजाय पाउन् ।’
त्यसबेला कामचलाउ प्रधानमन्त्रीको हैसियतमा आफूले संसद्बाहिरका व्यक्ति प्रधानमन्त्री हुनुपर्ने भए दलीय सहमतिको विकल्प अघि सारेको पनि उनले बताए । त्यसका लागि संविधान संशोधनसम्मको विकल्प सुझाएको उनको भनाइ थियो ।
‘देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ,’ उनले भने, ‘यदि संसद्भन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ, संसद्मार्फत संविधान संशोधन गर्नुपर्छ ।’
तर, प्रतिनिधिसभा विघटन हुन नहुने अडान आफ्नो रहेको बताए ।
‘एमाले चुनावबाट भाग्दैन’
सरकारले प्रतिनिधिसभा निर्वाचनको वातावरण नबनाएको ओलीले आरोप लगाएका छन् । निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने सरकारले उल्टै आतंक सिर्जना गरेको बताए । ‘संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान- हद,’ उनले भने, ‘यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ?’
उनले एमाले चुनावविरोधी नभएको बताए । शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन हुँदा एमालेले बहुमत ल्याउने दाबी गरे । तर, सरकार प्रतिरोधबाट मुक्त हुनुपर्ने बताए । ‘डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?’ उनले भने । उनले सरकार र जेन-जी बीच भएको समझदारीले निर्वाचन बिथोल्ने टिप्पणी गरे ।
ईश्वरलक्षित ओलीको आग्रह- हात मिलाऔँ, मन मिलाऔँ
एघारौँ महाधिवेशनबाट सर्वसम्मतिको अध्यक्ष हुन चाहेका ओलीलाई प्यानलसहित कडा टक्कर दिने तयारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । विगत लामो समय साथ दिएका पोखरेल यसपटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भरोसा दिँदा अध्यक्षमा ओलीविरुद्ध चुनौती पेस गर्दैछन् ।
यस्तोमा ओलीले महाधिवेशनको खुला सत्रमा ईश्वरलाई अध्यक्षको दाबेदारीबाट पछि हट्न कन्भिन्स गर्ने प्रयास गरेका छन् । एमालेको आन्तरिक एकतालाई थप मजबुत राख्न पनि आपसी प्रतिस्पर्धा औचित्यपूर्ण नहुने ओलीको तर्क छ ।
‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ‘एघार’लाई एकछिन् ध्यान दिएर हेरौँ- एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन्,’ उनले ईश्वरलाई लक्षित गर्दै भने, ‘एउटै लाइनमा एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् । त्यसैले, हामी प्रत्येक एक एमालेले अर्को एक एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै एघार बन्छौँ, बलियो शक्ति बन्छौँ ।’
तर, प्रतिस्पर्धा गरे त्यसले पार्टीमा घातप्रतिघात मात्रै होइन कमजोर बन्ने पनि बताए ।