आकर्षक रोजगारको लोभमा पछिल्ला दिनमा नेपालीहरु अनलाइन स्क्यामरको फन्दामा पर्न थालेका छन् । देशमा भरपर्दो रोजगार नभेटिएका युवाहरु हिजोआज स्मार्टफोनमार्फत नै काम खोज्छन् । कामको खोजीमा उनीहरुले विभिन्न लिंक र सूचनाहरुमार्फत आकर्षक काम पाउने विज्ञापनसम्म पुग्छन् ।
ती विज्ञापनदातासम्म पुग्दा उनीहरु ढुक्क हुन्छन् कि राम्रो काम त्यो पनि बसीबसी । घन्टामै २० हजार कमाउने, त्यो पनि विदेशमा गएर । नेपालमा महिनाको २० हजार पाउन मुश्किल भइरहेको अवस्थामा घण्टाको २० हजार कमाउने सपना कसको हुँदैन ? त्यसपछि युवाहरु यो स्क्यामको फन्दामा विस्तारै पर्छन् ।
यसको पछिल्लो उदाहरण हो म्यान्मरबाट फर्काइएका ४७ नेपाली । उनीहरूलाई थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न निकायसँगको समन्वयमा उद्धार गरी नेपाल फिर्ता पठाएको हो । एजेन्टहरुले उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएको पाइएको छ । युवा उमेरका धेरै रहेका उनीहरु म्यान्मरका स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म काम गरिरहेको पाइएको छ ।
उनीहरु अनलाइन साथी, अनलाइन खेल, सामाजिक सञ्जालको विज्ञापन हुँदै त्यहाँ पुगेको देखिएको छ । उनीहरूलाई भाइबर, ह्वाटस्एप, टिकटक, टेलिग्राम, मेजेन्जर आदिमा मेसेज आउने र आकर्षित मुलुकमा विभिन्न कार्यालय, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसेप्सनिस्ट लगायतका काममा एक लाखभन्दा बढी कमाइन्छ भनेर प्रलोेभनमा पारी लगेको पाइएको छ ।
स्क्यामिङ केन्द्रहरूमा पुर्याइएपछि केही महिना सजिला काममा लगाउने र त्यसपछि कामको निश्चित् लक्ष्य दिइने गरेको भेटिएको छ । उक्त लक्ष्य पुरा गर्न नसके शारीरिक शोषण गर्ने, बन्धक बनाइ फिरौति माग्ने, आरोपी बनाएर जेल पठाउनेदेखि हत्यासम्म गर्ने गरेको घटना पनि खुल्नमा आएको छ । कामबाट निस्कने खोजे सट्टभर्ना नगरी छाड्न नपाइने नियम रहेको पाइएको छ । यसरी स्क्यामिङमा परेकाहरुको पछिल्लोपटक धमाधम खुल्न थालेका छन् ।
थाइल्यान्ड, लाओस्देखि म्यान्मारसम्म नेपाली युवाहरु यसरी पुगेको भेटिएको छ । म्यान्मारमा अझै पनि ४०० भन्दा बढी युवाहरु उद्धारको पर्खाइमा रहेको बताइएको छ । यसरी युवाहरु स्क्यामिङमा फस्नुको मुख्य कारण हो नेपालमा रोजगारीको अभाव । अर्को कारण घरमा कामको दबावले नबुझी सजिलो कामको खोजीमा हाम्फाल्नु । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्छ । प्रक्रियामा जाँदा झन्झटिलो हुने भएकोले युवाहरु यतातिर लाग्नै चाहँदैनन् । यस्तो अवस्थामा अनलाइन स्क्यामिङका विषयमा सचेतना फैलाउने काम सरकारले शुरु गर्नुपर्छ । अर्को कुरा युवाहरुलाई विदेशमै गएर पैसा कमाउने दबाव दिने काम पनि परिवारले दिन हुँदैन ।