मोगादिशु- सोमालियामा 'भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको हाे ।
विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ, खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ।”“गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ”, मन्त्रालयले भनेको छ।
यसलाई ‘घातक रोग’ को रूपमा वर्णन मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ । यो चेतावनी सोमालियामा बिग्रँदो मानवीय अवस्था, बाढी र खडेरीलगायत निरन्तर द्वन्द्व र जलवायु परिवर्तनका झट्काहरूले जटिल बनाइरहेको बेला आएको हो।