चितवन- रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रसञ्चालन मा ल्याएको छ । सहज, पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी संघ नेपालद्वारा केन्द्र स्थापना गरीसञ्चालन गरिएको हो ।
विगत २४ वर्षदेखिसञ्चालन मा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरले जस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरीसम्बन्धी हेरचाह, पुनःस्थापना तथा सामुदायिक पुनः एकीकरणका कार्यक्रमसञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ ।
स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर चितवन शाखाका अध्यक्ष रामचन्द्र अधिकारीले केन्द्र स्थापनापछि यहाँका बिरामीले दीर्घकालीन उपचारका लागि लामो र कठिन यात्रा गर्नुुपर्ने अवस्था न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो केन्द्र स्वर्गीय उदयकुमार पिया र श्रीमती चमेलीदेवी पियाको स्मृतिमा उनीहरूका छोरा मदन पियाको आर्थिक तथा भौतिक सहयोग, चितवन रोटरी क्लबको व्यवस्थापन तथा स्पाइनल इन्जुरी संघ नेपालको प्राविधिक सहयोगमासञ्चालन मा आएको हो । सामुदायिक पहलमा बनेको यो केन्द्र प्राविधिक ज्ञान, प्रशिक्षण तथा मानव संशाधनका आधारमा सुरु गरिएको पनि उनले जानकारी दिए ।
शाखाका अध्यक्ष रवीन्द्र पियाले चितवनमा केन्द्र स्थापना हुनु नेपालमा विशेष पुनःस्थापना सेवा एक कदम अगाडि बढेको संकेत गर्ने बताए । साँगाको विशेषज्ञता, पिया परिवार र चितवन रोटरी क्लबको सहयोगका कारण यहाँको सेवा विश्वस्तरीय, किफायती र रूपान्तरणमुखी बन्ने उनले विश्वास व्यक्त गरे । उनले भने, “हाम्रो लक्ष्य केवल उपचार होइन, प्रत्येक व्यक्तिलाई उद्देश्यपूर्ण र स्वतन्त्र जीवन बिताउन सक्षम बनाउनु हो ।”
स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको हड्डीमा हुने क्षति) भोगेका सेवाग्राही समिरकुमार ठकुरीले स्थानीयस्तरमा सेवा सुरु भएकामा खुसी व्यक्त गरे । उनले भने, “देशको मध्यभागमा अवस्थित चितवन विभिन्न प्रकारका दुर्घटना हुने क्षेत्र हो । यहाँ कुनै दुर्घटना भइहाले घटनास्थलमा यथाशीघ्र पुग्न सकिने स्थान हो । यहाँबाट सेवा पाउँदा म जस्ता सेवाग्राहीलाई पुनःस्थापनामा सहज हुनुका साथै खर्च र समयको बचत भएको छ ।”
हाल १५ शय्या क्षमता रहेको यस केन्द्रबाट शुक्रबारदेखि विशेष दक्षतासहितका सेवा प्रदान सुरु भएका छन् । सुरुमा तीन जनाले आवासीय सुविधा लिएर उपचार थालेका हुन् । दैनिक बहिरंग (ओपिडी) सेवामार्फत २५ जनासम्मलाई सेवा दिन सकिने केन्द्रले जनाएको छ ।
केन्द्रमा एक विशेषज्ञ चिकित्सकसहित प्राविधिकहरू छन् । पिया परिवारले नारायणगढको न्यूरोडमा संरचना निर्माण गरी केन्द्र स्थापनाका लागि निःशुल्क ठाउँ उपलब्ध गराएको हो । यो स्थान १२ वर्षसम्म निःशुल्क रूपमा प्रयोग गर्न सकिने जनाउँदै स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर चितवन शाखाका अध्यक्ष अधिकारीले १२ वर्ष पछि जिल्लाको माडीमा आवश्यक जग्गा पिया परिवारले उपलब्ध गराउने सहमति भएको बताए । रोटरी फाउण्डेसनको सहयोगमा रोटरी क्लब अफ चितवनले आवश्यक उपकरण जुटाएको हो ।