लस एन्जलस-अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।
युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।
भूकम्पको केन्द्र क्यानाडाको युकोन प्रदेशको राजधानी ह्वाइटहर्सबाट करिब १५५ माइल (२४८ किलोमिटर) पश्चिमतर्फ तथा अलास्काको राजधानी जुनोबाट लगभग २३० माइल उत्तर–पश्चिमतर्फ रहेको जनाइएको छ ।
केन्द्र नजिकै पर्ने अलास्काको याकुटाट क्षेत्रमा रहेका प्रहरी प्रमुख थियो केप्सका अनुसार भूकम्प असाधारण रूपमा लामो समय-झण्डै १५ देखि २० सेकेन्ड-सम्म चलेको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको खबर प्राप्त भएको छैन । उनले यसलाई ‘साँच्चै आश्चर्यजनक’ मानिएको बताए ।
यसैबीच, अमेरिकी सुनामी चेतावनी प्रणालीले समुद्री सतहमा विशेष परिवर्तन नदेखिएकाले कुनै पनि प्रकारको सुनामी जोखिम नरहेको स्पष्ट गरेको छ ।