काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।
आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान–२०८२, शंकर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार–२०८२ पत्रकार मेनुका ढुंगाना (अछाम)लाई दिने निर्णय गरिएको छ । लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत रहेका छन् ।
त्यसैगरी ढुंगाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेकी थिइन् । मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बीच प्रदान गरिने छ ।