काठमाडौं- सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स (ग्लोबल)’ को सह-आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स-२०२५’ हुने भएको हो ।
आज पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्चालका प्रेस सल्लाहकार गोविन्द खड्काले यही डिसेम्बर ८ देखि १० गतेसम्म तीनदिने सम्मेलन काठमाडौँमा आयोजना हुने जानकारी गराए। यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्व भरि मनाइने भएको हो ।
सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२ विषयगत सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिनेछ । त्यसैगरी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कंगाे, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।
‘राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैंगिक हिंसा हो, मानव अधिकारको उल्लंघन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए । उनले भने, “यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान-प्रदान गर्ने, प्रमाण-आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पुर्याउने अपेक्षा गरेको छ ।”
नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ ।