काठमाडौं- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएकाे छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच नगरपालिकाको क्षेत्रभित्र सुरक्षा व्यस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हाे ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख हरी गोविन्द श्रेष्ठले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गरे ।
साेही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षालाई मध्यनजर गरी नगरवासीको सुरक्षाका लागि सिसिटिभि जडान गर्ने महालक्ष्मी नगरपालिकालाई यस कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धानमा महालक्ष्मी नगरपालिकासँग थप सहकार्य गर्दै जाने मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरी गोविन्द श्रेष्ठले राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसँग आगामी दिनहरूमा पनि सुरक्षा र अपराध नियन्त्रणका लागी थप समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताए । महालक्ष्मी नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण लगायत अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र सुरक्षा व्यस्थापनसंग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो ।
यसका लागि महालक्ष्मी नगरपालिकाको आ.ब २०८२-८३ को बजेट द्वारा कुल १ करोड आर्थिक सहयोग उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।