काठमाडाैं– पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। २०७९ पुस १० मा चिनियाँ नागरिक लिहासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो ।
महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको थियो ।