काठमाडौं - सडक डिभिजन काठमाडौंले ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं जिल्लाका सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मत गर्न मोबाइल एप र ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ सञ्चालनमा सडक डिभिजनले ल्याउने भएको हाे ।
डिभिजनले काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्व बोकेका सडक खण्डहरूमा देखिने समस्या तत्काल समाधान गर्ने र सडक मर्मत सुधार गर्ने प्रयोजनका लागि यो प्रविधि प्रयोग गर्न लागेको हो ।
यसका लागि विशेष प्रकारको ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ र खाल्डाखुल्डी मर्मतसम्बन्धी मोबाइल एप तयार पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार एक कार्यक्रमबिच उक्त मोबाइल एप र एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक डिभिजन काठमाडौँले जनाएको छ ।