काठमाडाैं - चीनको हुनान प्रान्तमा संसारकै सबैभन्दा ठूलो सुनभण्डार भेटिएको छ । हुनानको पिङजियाङ काउन्टीनजिकै उच्च गुणस्तरको १ हजार मेट्रिकटन सुन फेला परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् ।
यसको मूल्य ८३ बिलियन डलर अर्थात ११.२ लाख करोड रुपैयाँभन्दा बढी हुन्छ । खानीविज्ञ चेन रुलिनले ड्रिल गरिएका केही चट्टानका कोरमा प्रस्ट रूपमा सुन देखिएको बताएका छन् । यसलाई अहिलेसम्म संसारमा पत्ता लागेका मध्ये सबैभन्दा ठूलो सुनभण्डार मानिएको छ । यसअघि दक्षिण अफ्रिकाको साउथ डिप खानीमा ९०० मेट्रिक टन सुन फेला परेको थियो ।
पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका चट्टान दरार परेका थिए । जियोलोजिस्टले सुरुमा ३ सय मेट्रिकटन सुन भएको अनुमान गरेका थिए । तर, थ्रीडी मोडलिङको प्रयोग गरेर सुनका दरारको गहिराइ ३ हजार मिटरसम्म रहेको पत्ता लगाइएको थियो । यसबाट अनुमान गरिएको भन्दा ७ सय मेट्रिकटनभन्दा बढी सुन फेला परेको हो ।
चीन संसारका सबैभन्दा बढी सुनभण्डारण भएका देशको सूचीमा छैटौँ नम्बरमा पर्छ । चीनसँग हाल २ हजार २६४ टन सुन भण्डार छ । वर्ल्ड गोल्ड काउन्सिलको रिपोर्टअनुसार यो सूचीको पहिलो नम्बरमा अमेरिका छ ।