लुम्बिनी - लुम्बिनी प्रदेशसभाका सदस्यहरुले जेनजी आन्दोलनको विषय उठान गरेका छन् । प्रदेशसभामा आजदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठकमा उहाँहरुले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसको उद्देश्यबारे प्रश्न उठाए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जेनजी आन्दोलनको उद्देश्य के हो भन्ने विषयमा स्पष्ट नभएको टिप्पणी गरे । उनले आन्दोलनबाट नेपाली जनताले के पाए भनि प्रश्न गरे । नेपाली कांग्रेसकी प्रमुख सचेत जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बताए ।
उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको भन्दै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गरे ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेत इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए । उनले उत्पन्न अवस्थाको कारण पहिचान गरेर सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा राखे ।
प्रदेशसभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि धारणा राखे । बैठकमा सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाउनुभयो । उहाँले सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनःगठनबारे पत्र र छैटौं अधिवेशनबाट प्रमाणीकरण भइसकेका विधेयकसम्बन्धी जानकारी पढेर सुनाए । बैठकले प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
चालु अधिवेशनका लागि प्रदेशसभा सचिवालयमा दर्ता भइसकेका दुई विधेयकमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७६ संशोधन विधेयक छन् ।
यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले थप तीन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ । तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक रहेका छन् ।
Powered By Orson Infotech