रसुवा- नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ । दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो ।
गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलीब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ ।चिनियाँ पक्षकाअनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो ।
खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिको भनाइ छ ।
स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलीब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ । उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलीब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ ।
स्थानीय गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताए ।