चितवन- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार वायोम्याट्रीकबाट थपिएका मतदातामध्ये छ हजार ३११ पुरुष, चार हजार ७७६ जना महिला र तीन तेस्रो लिङ्गी रहेका छन् । उनका अनुसार अन्य जिल्लाका दुई हजार १२३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् । यस्तै त्रुटि सच्याउने ३४४ जना र ठाउँसारीका एक हजार ७२८ जनाले निवेदन दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख २१ हजार ३९२ मतदाता थिए । त्यो बेला तेस्रो लिङ्गी मतदाता एक जना थिए ।
निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो सङ्ख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीले बताए । बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो सङ्ख्यामा थपघट हुने उनले बताए । यससँगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटास्थल यथावत राखिने भएको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ ।