भोजपुर- पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ । गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार गत वर्षदेखि नमूनाका रूपमा पशुपालनमा आबद्ध किसानलाई लक्षित गर्दै गोबर ग्यास जडान प्रक्रिया अघि बढाइएको हो । महिला विकास बोर्डमार्फत आत्मनिर्भर कार्यक्रमअन्तर्गत गाई वितरणसँगै गृहिणी महिलालाई लक्षित गरी गोबर ग्यास स्थापना गरिएको उनले बताइन् ।
“हामीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भनिन्, “विशेष गरी पशुपालनमा आबद्ध किसानलाई गोबर ग्यास प्रवद्र्धन गरेर आयातित ग्यासमाथिको निर्भरता घटाउने र भान्सामा थप सहजता ल्याउने उद्देश्य राखेका छौँ ।”
गाउँपालिकामा महिला विकास बोर्डअन्तर्गत गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, तरकारी तथा फलफूलखेती, गड्यौला मल उत्पादनजस्ता कार्यक्रम सबै वडामा सञ्चालन भइरहेका छन् । महिला उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उपाध्यक्ष राईले बताइन् । पौवादुङमा–१ श्यामशिलामा गोबर ग्यास जडानका लागि एक परिवार बराबर गाउँपालिकाबाट रु १५ हजार, सङ्घीय सरकारबाट रु २५ हजार र किसानको रु ५० हजार खर्च भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा श्यामशिलाका दुई परिवारले नमूनाका रूपमा गोबर ग्यास प्रयोग गर्न थालेका छन् ।
गोबर ग्यास जडानपछि खाना पकाउने, पानी तताउनेदेखि घरायसी काम सहज भएको स्थानीय तारा तामाङ बताउनुहुन्छ । “गोबर ग्यासको कार्यक्रमले हामीलाई सहज भएको छ”, उनले भनिन्, “महिला लक्षित कार्यक्रमले उद्यममा जोडिन सजिलो भएको छ । पशुपालन, तरकारीखेतीजस्ता कार्यक्रमले हामीलाई आत्मनिर्भर बन्न प्रोत्साहन दिएको छ ।”
यस्तै, गोबर ग्यास प्रयोगसँगै बाहिरबाट ग्यास किन्नुपर्ने बाध्यता हटेको श्यामशिलाका भरतबहादुर कार्कीले बताए । “अब दाउराको प्रयोग पनि निकै घटेको छ”, उनले भने, “यसले समय, श्रम र खर्च सबै घटाएको छ ।”